धनुषा २, फागुन । धनुषामा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता पक्राउ परेका छन्। क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्र नगरमा प्रहरी निरीक्षकसहित तीनजनाको ज्यान लिने गरी बम विस्फोट गरिएको थियो । प्रहरीको विशेष टोलीले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाको प्रदेश २ सदस्य धनुषाधाम नगरपालिका–६ का ३४ वर्षीय इन्दल साह ९धानुक० लाई पक्राउ गरेको हो। साह सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ। एक व्यक्तिसँग चन्दा लिन श्रीपुर पुगेका बेला विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभएको छ । उहाका अनुसार साहलाई आवश्यक कारबाहीका लागि धनुषा प्रहरीको जिम्मा लगाइएको छ। अहिले साहमाथि थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका साहमाथि पहिलादेखि नै कर्तव्य ज्यान, विस्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा दर्ता भएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ । साह महेन्द्रनगर बम विस्फोटमा पनि संलग्न रहेको उहाको दावी रहेको छ । महेन्द्रनगरमा गत मंसिर २७ गते मध्यरातमा भएको बम विस्फोटका योजनाकारमध्ये साह पनि एक रहेको प्रहरीको दाबी छ। उनले नै बम राखेका बताइएको छ। प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार यस विषयमा अनुसन्धान भइरहेको छ। बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय ४८ वर्षीय राजेश साह र उनकै १६ वर्षीय छोरा आनन्दको मृत्यु भएको थियो। घटनामा मृतक साहकै दुई छोरा घाइते भएका थिए।बम विस्फोट गराएको आरोपमा प्रहरीले यसअघि पाँचजनालाई पक्राउ गरिसकेको छ। उक्त घटनामा १२ जनाको संलग्नता रहेको प्रहरीले बताएको छ। उनीहरुको खोजी जारी रहेको प्रहरी नायब निरीक्षक कार्कीले बताउनुभएको छ ।
साभार – थाहाखबर