सिरहा २८ माघ । हत्या गरी बोरामा पोको पारेर फालिएको अवस्थामा १५ महिने बालिकाको शव फेला परेको छ । बडियारपट्टी गाउँपालिका–३ का देवेन्द्र यादवकी १५ महिने छोरो आशिकाको मंगलबार शव फेला परेको हो ।
सोमबारबाट हराइरहेकी आशिकाको २४ घण्टापछि घर नजिकैको पोखरीमा प्लाष्टिकको बोरामा पोकोपारी फालिएको अवस्थामा शव फेला परेको हो । परिवारकाअनुसार सोमबार घरमा पुरी पकाउँदै गर्दा छोरीलाई आगनमा खेल्न छाडिएको थियो । पुरी पकाएर छोरी खोज्दा नभेटिएपछि रातभर खोजी गरिएपनि बालिका भेटिइनन् । राति नै प्रहरीमा खबर गरियो ।
प्रहरी र आफन्त सबै मिलेर खोजतलास गरेपछि घर नजीकैको पोखरीमा प्लाष्टिकमा पोको पारी फालिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँले डुबेर मरेको हो की मारेर पोखरीमा फालेको हो भन्ने नखुलेको बताउनुभएको छ ।
शव परिक्षणका लागि जिल्ला अस्पताल सिरहा लगिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।