काठमाडौं । आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग चुनावी गठबन्धन गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारमा जान आन्तरिक तयारी गरेको छ । राजपालाई शशर्त सरकारमा सहभागी गराउन प्रधानमन्त्री केपी शर्मा ओली पनि आतुर देखिएका छन् ।
यसअन्तर्गत प्रधानमन्त्री ओली र राजपाका नेताहरुबीच सरकारमा सहभागी हुने सहमति भएको छ । हालै भएको गोप्य सहमतिअनुसार राजपाले सरकारमा ३ मन्त्रालय पाउने भएको छ । यसअघि मधेसको अर्को शक्ति समाजवादी पार्टीलाई दुइटा मात्रै मन्त्रालय दिइएको थियो ।
राजपानिकट उच्च स्रोतका अनुसार पाउने ३ मन्त्रालयमा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरु शरतसिंह भण्डारी र अनिल झा मन्त्री बन्नेछन् । सहमतिअनुसार विभिन्न संवैधानिक पदमा राजपाका नेताहरुलाई स्थान दिइनेछ । यसअन्तर्गत महन्थ ठाकुरका सम्धी (निवर्तमान प्रदेश २ का प्रमुख) उमाकान्त झालाई राजदूत बनाउने तयारी छ ।
साथै उपसभामुख पद पनि राजपालाई नै सुम्पिन प्रधानमन्त्री ओली तयार भएका छन् । रेशम चौधरीलाई पनि प्रक्रिया पुर्याएर रिहा गर्ने समझदारी पनि भएको छ । यसको घोषणा अर्का अध्यक्ष प्रचण्डले माघ १ गते टुँडिखेलको सार्वजनिक मन्चबाट समेत गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीले राजपाका नेताहरुलाई सरकारमा आएपछि अंगीकृत नागरिकता र भाषा विषयमा मिलेर संविधान संशोधन गर्ने पनि समझदारी गरेको राजपाका एक उच्च नेताले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले यी सबै सहमति र समझदारी तदारुकताका साथ कार्यान्वयन गरिने दृढ प्रतिबद्धता जनाउँदै त्यसका लागि अमेरिकी सहयोग एमसीसीमा राजपाको साथ खोजेका छन् । संसदबाट एमसीसी पारित गराउन ओलीले राजपाको साथ खोजेका हुन् । यता सुरक्षित अवतरणको खोजीका रहेको राजपाका नेताहरुले सहमति जनाइसकेका छन् । अब नेकपा र राजपाबीच अर्को ३ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भई लिखित रुप दिइने तयारी छ ।
प्रधानमन्त्रीले यो खेल एमसीसीको विरोध गरिरहेका प्रचण्ड समूह र सरकारबाहिर रहेको उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलाई बर्बाद पार्न गरेको जस्तो देखिएको नेताहरु बताउँछन् । मधेसी शक्तिलाई फुटाउ र राज गर रणनीतिमा ओली अगाडि बढेको मधेसका बुद्धिजिवीको तर्क छ । राजपा सरकारमा सहभागी भए मधेस आन्दोलन तुहिने र ओलीको रणनीति पनि यही भएको उनीहरुको बुझाई छ । पहिले उपेन्द्र यादवलाई तह लगाएको र अब राजपालाई सरकारमा सहभागी गराएर ओलीले मधेस आन्दोलन तुहाउने आफ्नो स्वार्थ पूर्ति गर्ने बुद्धिजिवीहरुको चिन्ता छ । उपेन्द्रकै जस्तै एकदिन राजपालाई पनि ओलीले लात हान्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।
यो समारचार नेपालपाना डटकममा प्रकाशित गरेको छ ।