काठमाडौं, २ मंसिर ।
पुर्व प्रधानमन्त्री एवम सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरूसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरू आफैं संलग्न रहेको आरोप लगाएका छन्।
पूर्वप्रधानमन्त्री नेपालले नेता तथा मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकोले मुलुकको सबै क्षेत्र बिग्रेको दाबी समेत गरे। ‘कर्मचारीको नियुक्तिमा घुस, सरुवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरु आफैं संलग्न छन,’ सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले ‘यसैकारण मुलुकको सबै क्षेत्र बिग्रेको छ।’ भन्दै स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भइरहेको उल्लेख गरे । बरिष्ठ नेता नेपालले यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका छन्। स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाइरहेकाले सरकारले उनीहरूमाथि कडा कारबाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाइ छ।
उनले मुलुकमा लुट मच्चाउनेहरुको सातपुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्ने तर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए। वरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए ।