काठमाडौं २८ कार्तिक । सरकारले सामाजिक सुरक्षा कोषको व्यवस्था मिलाएपछि नीजि क्षेत्रले त्यसमा रुची देखाइरहेको थिएन । तर पछिल्लो सयम सरकारकै दबाबका कारण ठूला कर्पोरेट हाउसहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन थालेका छन् । केही समयअघि बाणिज्य बैंकका सिइओहरुलाई श्रममन्त्री गोकर्ण विष्टले भेटेर सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आग्रह गरेका थिए । त्यसपछि केही बाणिज्य बैंकहरु कोषमा आवद्ध भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (उवा महासंघ) ले पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुने निर्णय गरेको छ। बिहीबार बसेको कार्यसमिति बैठकले कोषमा आवद्ध हुने निर्णय गरेको हो। कोषमा ठूला कर्पोरेट हाउसहरु नगएका कारण कोषले आवद्धताका लागि मंसिर १४ गतेसम्म समयावधि थपेको थियो। श्रममन्त्री विष्टले उद्योग बाणिज्य महासंघ, बैंकर्स एसोसिएसन लगायतसँग बसेर कोषमा देखिएका केही असहज प्रावधानहरु ह्टाइने तर कोषमा आवद्ध हुनै पर्ने बताएपछि उनीहरु कोषमा सहभागि हुन राजी भएका हुन्। बिहीबार महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अगाडि बढाएको सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषका विषयमा महासंघका सदस्य संघ संस्था, जिल्लानगर उवासंघ, वस्तुगत संघहरू, एसोसिएट उद्योग प्रतिष्ठानहरूसँग यथाशीघ्र छलफल गरी अघि बढ्ने निर्णय भएको छ।’ बैठकले स्थायी समितिले कात्तिक २९ गते डाकिएको विषेष साधारणसभा रोक्ने निर्णय पनि अनुमोदन गरेको छ। त्यसैगरी महासंघले उद्योगी रुप ज्योतिलाई हिरासतमा राखिएकोतर्फ लक्षित गर्दै उद्योगी र व्यवसायीहरु माथि राज्यले समय समयमा गर्ने नकारात्मक व्यवहारले लगानीको वातावरणमा समेत प्रतिकुल प्रभाव पर्ने बताएको छ। ‘महासंघले उद्योगी र व्यवसायीलाई सम्मानजनक व्यवहारको माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

