रौतहट, २८ कार्तिक ।
राजपुर बमकाण्डको अभियोग लागेका नेपाली काँग्रेसका सांसद मोहम्मद अफताव आलमको तर्फबाट भई रहेको बहस अझै जारी रहेको छ ।
विहीबार रौतहटका ६ जना अधिबक्ताहरुले बहस गरेका छन् । आज बहस गर्ने अधिवक्ता हरीशंकर साह, अन्नत अधिकारी, राम विनोद गिरी, नन्दकिशोर साहलगायतले काँग्रेस सांसद आलमलाई थुनुवा बाहिर राखेर पुर्पक्ष गर्न माग गरेका छन् ।
आलमको पक्षमा बहस गर्ने अधिवक्ताहरुको संख्या आजको बहस पछि १७ पुगेको छ।
गत बिहीबारदेखि सांसद आलमको मुद्दामा थुनछेक बहस सुरु भएको थियो ।
सरकार र पिडिततर्फका कानुन व्यावसायीको बहस सकिए पनि प्रतिवादीका कानुन व्यवसायीको बहस जारी रहेको हो । प्रतिवादीका कानुन व्यवसायीको बहस टुंगिएपछि सरकारी र पिडितका वकिलले प्रतिबहस गर्न सक्ने अदालतले जनाएको छ ।
थुनछेक बहस टुंगिएपछि अदालतले आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पूर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारिखमा छाड्ने भन्ने आदेश दिनेछ ।
आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । बाँकी १० जना भने फरार छन् । आलममाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटन गरी ३ वटा मुद्दा दायर गरिएको छ ।