file photo

रौतहट,१९ कार्तिक ।

नेपाली काँग्रेसका नेता पुर्व मन्त्री एवम सांसद मोहम्मद अफताव आलमको मंगलबारको बयान कार्य सकिएको छ । इजलास नं. ४ का जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा मंगलबार आलमको छोटो बयान भएको हो।
बयानका लागि बिहान १०ः३० बजे नै जिल्ला अदालत पुर्‍याइएका आलमको बयान भने ३ बजेर १५ मिनेटमा शुरु भएको थियो । आलमलाई १ बजेर १५ मिनेटमा जिल्ला न्यायाधीश ढकालको इजलासमा लगेपछि उनका पक्षका कानून व्यवसायीले मुद्दाको मिसिलको नक्कल प्रति आफूहरुले नपाएको भने पछि शुरु हुन लागेको बयान केही बेर रोकिएको थियो ।
आलम पक्षका कानून व्यवसायीहरुले मुद्दाको मिसिलको नक्कल प्राप्त गरेपछि मात्रै आलमको बयान शुरु भएको थियो । ‘सरकारी वकिल खडिन्द्रराज कटुवालका अनुुसार प्रतिवादी पक्षका कानून व्यवसायीहरुले मुद्दाको नक्कल माग गरेकाले केही बेर बयान स्थगित भएको र नकल पाए पछि बयान शुरु भई झण्डै ४५ मिनेट चलेको थियो ।
मंगलबार भएको बयानमा आलमसँग न्यायाधीश ढकालले ९ वटा प्रश्न गरेका थिए ।
आलम संग सोधिएका ९ प्रश्न र आलमले दिएका उतर ः

१. न्यायाधीश – तपाईको नाम थर वतन के हो ?
आलम – मेरो नाम मोहम्मद आफताब आलम हो । मेरो घर राजपुर हो ।

२. वारदात भएको मिति २०६४ चैत्र २७ गते तपाईंले प्रयोग गरेको मोबाइल नम्बर कति थियो ?
आलम – त्यस बखतको मोबाइल नम्बर मलाई सम्झना छैन ।

३. तपाईंको जन्म मिति कति हो ? अहिले कति वर्षको हुनुभयो?
आलम – म २०१९ सालमा जन्मेको हो । अहिले ५७ वर्षको भए ।

४. तपाईको स्थायी ठेगाना के हो ?
आलम – म राजपुर नगरपालिका ४ मा बस्छु ।

५. तपाईंले कुन विद्यालय कलेजबाट कतिसम्म अध्ययन गर्नुभएको छ ?
आलम – मैले बिएस्सी सम्मको अध्ययन गरेको छु ।

६. तपाई के काम—पेशा व्यवसाय गर्नु हुन्छ ?
आलम – मैले २०३६ सालदेखि नै राजनिति गरेको छु । मेरो अन्य पेशा व्यवसाय छैन ।

७. तपाई र तपाईंको अंशबण्डा नभएका परिवार कोको सदस्यका का नाममा के कति चल अचल सम्पत्ति छ ?
आलम – मेरो १२ जनाको सगोलको परिवार छ । मेरो परिवारजनहरुको समेत नाममा जोडेर २२ बिघा जति जग्गा छ । चल सम्पति खासै छैन ।

८. तपाईको स्वास्थ्य अवस्था के छ ? प्रहरी हिरासतमा कुनै किसिमको याताना दिएको छ कि छैन ?
आलम – मेरो स्वास्थ्य ठीक छ । म रक्तचापको विरामी हुँ । प्रहरीले मलाई कुनै किसिमको यातना दिएको छैन ।

९. तपाईंले कानून व्यवसायी नियुक्त गर्नु भएको छ कि छैन ? यदि छैन भने तपाईले निःशुल्क रुपमा कानूनी सहयाता पाउन सक्नु हुन्छ भन्ने जानकारी तपाईलाई छ कि छैन ?
आलम – मैले आफ्नो कानून व्यवसायी नियुक्त गरेको छु । उहाँहरुले नै मेरो मुद्दा लड्नुहुन्छ ।
परिचय सहितको विवरणमै अदालतको समय समाप्त भएकोले बाँकी बयान बुधबार हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here