रौतहट, ८ कार्तिक ।
आजको धनतेरससगैं आजबाट दीपावली पर्वको शुभ आरम्भ भएको छ । सधैं झै दिपावली पर्वको पहिलो दिन अर्थात् कार्ति कृष्ण त्रयोदशीका दिन आज नयाँ वस्तु किनेर त्यसको पूजाअर्चना गरी धनतेरस पर्व मनाईदैछ ।
आजका दिन सुन चाँदीको गहना तथा नया सामग्रीहरु किनेर ल्याउने प्रचलन छ । धनतेरसका दिन सुन, चाँदी, तामा लगायतका धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याई पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास रहेको छ ।
धनतेरस अर्थात आजको दिन किनिएको वस्तु टिकाउ, लाभदायक र शुभ हुने धार्मिक मान्यता रहेकाले तिहार पर्वको पहिलो दिन आफ्नो गच्छेअनुसार सबैले केही न केही किन्ने परम्परा रहेको हो । आज सबैजसो स्थानमा सुनचाँदी लगायत धातुजन्य सामान पाइने पसलमा सामान किन्नेको घुइँचो नै लाग्ने गर्दछ ।
पहिले नेपालको विशेषगरी मधेशी समुदायमा मनाउने यो पर्व पछिल्ला वर्षहरुमा देशभरी नै हर्षउल्लासका साथ मनाउने प्रचलन बढदैं गएको छ ।