धनुषा, २२ असोज (रासस)
प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गर्नुभएको हो । विजयदशमीको अन्तिम दिन मङ्गलबार साँझ रावणको प्रतिमा निर्माण गरी रावण बध कार्यक्रमको आयोजना गरिएको हो । १४ वर्षको वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुशियालीमा जनकपुरमा रावण बध कार्यक्रम हुँदै आएको छ । स्थानीय महावीर युवा कमिटीको पहलमा पछिल्लो छ वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ भने यस वर्ष पहिलोपटक लङ्कादहन गरिएको हो । विगत वर्षझैँ यस वर्ष पनि जनकपुरस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणको प्रतिमा निर्माण गरी विभिन्न खाले फटकासहितको सामग्रीमा आगो लगाई दहन गरिएको छ । प्रतिकात्मकरुपमा तयार पारिएका मानवरुपी भगवान् रामले रावण बध र हनुमानले लङ्कादहन गरेका थिए । रावण बध कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले भगवान् रामको जीवन सङ्घर्षका साथ अगाडि बढेको स्मरण गराउँदै सङ्घर्षपछिको फल मिठो हुने गरेको बताउनुभयो । रावण स्वयं विद्वान् रहे पनि सीता हरणका कारण भगवान् रामले बध गर्नुपरेको प्रमुख साहले बताउनुभयो । भारतसम्म मात्र सीमित रहेको यो कार्यक्रम विगत छ वर्षदेखि जनकपुरमा समेत हुँदै आएको छ । गङ्गासागर र धनुषसागर पोखरीको बीचमा हुने रावण बध कार्यक्रम अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको थियो । यस अवसरमा नागरिक समाज, बुद्धिजीवी, युवा क्लबका प्रतिनिधिसहित उल्लेख्य सङ्ख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।