२०, असोज (रासस)

काठमाडौं बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन्। जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि करीब ३० मिटर तल खोलाको ठूलो ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खसेको स्थानीयले बताएका छन्। खोलामा खसेकी उनलाई खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। अर्जेन्टिनाका एक नागरिकलाई आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवाआमासंगै दशैँ मनाउन भनेर घर जाँदै गर्दा उनीहरु शनिबार बुर्तिबाङ बजारमा बसेका थिए। आइतबार घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा सिर्पाली चिप्लेर खोलामा खसेको इलाका प्रहरी कार्यलय बुर्तिबाङले जनाएको छ । खोलाले बगाएको थाहा पाएलगत्तै प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए। सिर्पालीलाई खसेको ठाउँबाट करीब ४०० मिटर तल रिभरहेडसम्म खोलाले बगाउँदै लगेको स्थानीयले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here