काठमाडौं, १७ असोज ।
संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि यौनदुव्र्यबहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको तीन दिनपछि संयुक्त राष्ट्रसंघसहित ६ वटा पश्चिमा देशका नेपालस्थित दूताबासले नेपालमा पछिल्लो समय भएका महिला हिंसाका घटनाप्रति चासो व्यक्त गर्दै चिन्ता जनाएका छन्।
संयुक्त राष्ट्रसंघसहित नेपालस्थित अस्ट्रेलिया, फिनल्यान्ड, नर्वे, स्वीट्जरल्यान्ड, संयुक्त अधिराज्यले शुक्रबार निकालेको संयुक्त विज्ञप्तिमा पीडितलाइ न्यायमा पहुँच दिने, पीडितको पक्षमा उभिने र लिंगको आधारमा हुने हिंसामा शुन्य सहनशीलता अपनाउने जिम्मेवारी सरकारको भएको स्मरण गराउँदैं अन्तर्रा्ष्ट्रिय कानुन अनुसार न्यायको सुनिश्चितताका लागि आग्रह गरिएको छ।
महिलाविरुद्ध हिंसा र यौन हिंसाका घटनाका पीडकहरुले उन्मुक्ति पाएको समाचारहरु आएको भन्दै ती निकायहरुले निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिषयमा चासो व्यक्त गरेका छन्। पीडित परिवारका सदस्यहरुले न्याय पाउन नसकेकोतर्फ उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। बिज्ञप्तिमा महरा प्रकरणका बारेमा भने तोकेरै चाँही केही उल्लेख गरिएको छैन।
नेपाल सरकारले अन्तर्रा्ष्ट्रिय मापदण्ड तथा महिलाविरुद्ध हुने सबै प्रकारको हिंसालाई अन्त्य गर्ने अभिसन्धि तथा नागरिक तथा राजनीतिक अधिकार अनुबन्ध अनुसार सबै प्रकारको आरोपहरुको चाँडो, पूर्ण तथा निष्पक्ष अनुसन्धान गर्नुपर्ने जिम्मेवारी रहेकोतर्फ ती निकायहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।