ज्ञानेन्द्र कर्ण
असोज १२ गते रौतहट । रौतहटको गुजरा नगरपालिकाको जंगलसहिया स्थित रहेको गढिमाई मन्दिर परिसरमा आज कलश शोभा यात्रा निकालिएको छ । जंगलसहिया, पोखरभिण्डा, कनकपुर लगाएतका टोलहरुबाट सयौको संख्यामा गएका कुमारी कन्याहरुले लालबकैया नदिबाट माटोको गागरीमा जल ल्याई जंगलसहिया कनकपुर सडकखण्डमा रहेको गढिमाई मन्दिर परिसरमा कलशको रुपमा स्थापना गरेका थिए । सो अवसरमा गुजरा नगरपालिकाका विभिन्न राजनितिक दलका व्यक्तित्व, समाजसेवी, किसान, बुद्धिजीवी, शिक्षक, विद्यार्थी लगाएतको विभिन्न गाजाबाजा सहित ठुलो संख्यामा मानिसहरुको सहभागिता रहेको थियो ।
७२१ जना कुमारी कन्याद्धारा जंगलसहियाबाट निकालिएको कलश यात्रा जंगलसहिया आसपासको गाउँ परिकर्मा गरी मन्दिर परिसरमा प्रवेस गरेको स्थानीय समाजसेवी कृष्ण पोखरेलले बताउनुभयो । विश्व प्रसिद्ध बाराको बरियारपुरमा पाँच पाँच वर्षमा लाग्ने गढिमाई मेलाको तिथिसँगै प्रत्येक पाँच वर्षमा जंगलसहिया स्थित गढिमाई मन्दिरमा मेला लाग्ने गर्दछ । गढिमाईको अघिलो मेला अर्थात पाँच वर्ष अघिदेखी जंगलसहिया स्थित गढिमाई मन्दिरमा पहिलोपटककै मेलाको अवसरमा पाँच सय बढी बोकाको बली दिईएको स्थानीय समाजसेवी कुमार चौलागाईले जानकारी दिनुभयो । अगामी मंगसिर १० गतेदेखी गढिमाई स्थान जंगलसहियामा लाग्ने मेलाको तयारी द्रुत गतिमा भइरहेको मेला व्यवस्थापन समितिले जनाएको छ ।
मेलामा अगामी मंगसिर १७ गतेदेखी बली हुने आयोजक मेला समितिले जनाएको छ ।
जंगलसहियामा मंगसीर १० गतेदेखी झण्डै दुई साता सम्म लाग्ने गढिमाई मेलाको भव्याताका साथ व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण लगानी गर्ने तथा विशेष सहयोग गर्ने गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरीले कटहरिया एफएमसँग भएको कुराकानीमा प्रतिवद्धता व्यक्त गर्नुभयो । विश्व प्रसिद्ध बारा बरियारपुर स्थित गढिमाई पञ्चवर्षिय मेलाको तिथिसँगै रौतहटको जंगलसहिया, दुधियाभार,सुन्दरपुर, माधोपुर लगाएतका स्थानमा मेला तथा बली लिईने चलन पछिलो एक दशकदेखी चलिआएको देखिएको छ ।