अर्घाखाँची, २१ भदौ । अर्घाखाँचीको सिमलपानीको वाणगंगा खोलापारि पावरामा विद्यालय छ। करिब ३ सय मिटर हिँडेपछि स्कुल पुगिन्छ। तर बीचबाटोमै पर्ने बाणगंगा नदी तरेर स्कुल जान नसक्दा सयौं विद्यार्थी पढ्नबाट वन्चित हुँदै आएका छन्। हिउँदमा तर्न सकिने वाणगंगा बर्खामा भने तर्न सक्ने उपाय नै छैन। पढाई बिग्रीने डरले आत्तिएका विद्यार्थी जनतन स्कुल जान खोज्दा उनिहरु जोखिम मोलेरै जान बाध्य छन्। खोला तर्न नसके घरबाटै विद्यालय भवन हेरेर बस्नुबाहेक विक्रमसोताका बालबालिकासित अर्को विकल्प छैन। अभिभावकको वेदना जिल्लाको शितगंगा नगरपालिका–१४ सिमलपानीको पावरा र विक्रमसोतामा बाक्लो बस्ती छ। खोलापारि पावरमा माध्यमिक विद्यालय छ। अभिभावकलाई छोराछोरी नियमित विद्यालय पठाउने मन भएर पनि खोला तर्न सकिँदैन। ‘लेदोसहितको बाढी आइरहन्छ,’ विक्रमसोताका स्थानीय होम बहादुर पल्लीले भने, ‘वरिपरि जंगलले घेरिएको बस्ती छ। बिक्रमसोतातिर घाम लागेको बेलामा पनि खोलामा बाढी आएको हुन्छ। बर्खाभरि जोखिम धेरै हुन्छ। दुई बस्तीको बीचमा पुल बनाइदिन स्थानीयले गुहार मागेको लामो समय भयो। कसैले वास्ता गरेनन्, उनले भने, ‘झोलुंगे पुल भए पनि बर्खाभरि विद्यार्थी स्कुल जान र यी गाउँबीच आउजाउ बन्द हुने थिएन।’ वाणगंगाले बर्सेनि बस्ती कटान गर्छ। बाढीले गाउँ डुब्छन्। चुरे संरक्षण क्षेत्रअन्तर्गत पर्छ। पहाडको जंगलमा बस्ती छरिएर रहेको छ। ‘कतिबेला खोलामा बाढी आउँछ पत्तै हुँदैन,’ स्थानीय वीरबहादुर खाम्चाकीले भने, ‘साना बालबालिकाको लागि खोला तर्नु जोखिम हुन्छ। बाढीले बगाएर बेपत्ता पार्ने डरले बर्खाभरि कोही पनि खोला तर्दैनन्।’ घरमा बसेर अभिभावकले पढाउनेबाहेक अरू विकल्प छैन। कक्षा ५ सम्म विक्रम गाउँकै स्कुलमा अध्ययन गर्छन्। त्यसपछि ६ कक्षाबाट १० सम्म पढ्न यहाँका बालबालिका पावर मावि जानुपर्छ। विद्यार्थीको पिरलो बर्खाभरि पढाइ छुट्छ, छात्रा सुस्मा थापाले भनिन्, ‘घरबाट पावरा मावि स्कुल छर्लङ देखिन्छ। तर, के गर्नु बाधक खोला बनिदियो। बर्खाभरि विक्रममा छुट्टै कक्षाको व्यवस्था गर्नुपर्ने उनिहरुको माग छ। त्यही विद्यालयकी विमला रेश्मीले बर्खाभरी घरमै किताब पढ्छिन्। ‘हिउँद सुरु भएपछि साथीसँग सरले पढाएको होमवर्क सारेर पढ्छु, ‘तर, कक्षामा गएजस्तो हुँदैन। एक हातमा स्कुलका ड्रेस अर्को हातमा किताव कापी समाएर दुबै हात मिथीगराई खोला तरेर स्कुल जान बाध्य भएको उनले गुनासो गरिन्। खोला तरिसकेपछि लगाएका कपडा खोलाको किनारमा सुकाएर स्कुलका ड्रेस लगाएर विद्यार्थी स्कुल पुग्ने गर्दछन्। पढाइ नियमित नभएपछि यहाँका विद्यार्थीको नतिजा पनि दिन प्रतिदिन खस्किदै गएको छ। खोलाका कारण उनीहरू कक्षामा पछाडि परेका छन्। पुल हाल्ने नगरको सामर्थ्य छैन : नगर प्रमुख नगर प्रमुख सूर्यप्रसाद अधिकारीले वाणगंगा खोलामा पुल बनाउन नगरको सामर्थ्य नपुग्ने बताए। यसका लागि संघ र प्रदेश सांसदलाई आग्रह गरेको उनले बताए। अधिकारीले जिल्लाको पूर्व र उत्तर मगरातमा दर्जनौ पुल बन्दा सिमलपानीको पावरामा बन्न नसक्दा दुख लागेको बताए। बिकाश जति जिल्लाको पुर्व र उत्तरमा केन्द्रित भएको छ। नगर प्रमुख अधिकारीले हामीले पटकपटक प्रदेश र संघीय सरकार सँग माग गरे पनि सुनुवाइ नभएको उनको गुनासो गरे। माथील्लो निकायमा दक्षिण खाँचीबाट नेतृत्वमा पुग्न नसक्दा प्रदेश र संघिय सरकारमा पुगेका सभासदहरूले दक्षिणखाँचीलाई उपेक्षित गरेको यहाँका स्थानियबासिन्दा बताउँछन्। देशमा सरकार नै छैन कि जस्तो लाग्छ : प्रअ करेचुली , बठेनी, मुन्द्रीबास ,बिक्रम, गन्दी, सुखौरा, हडाहा, ढाबा, पावराबाट विद्यार्थी पढ्न आउने गर्दछन्। अहिले विद्यालयमा ४ सय १३ विद्यार्थी अध्यनरत छन्। जसमध्ये झन्डै ३ सय विद्यार्थी दैनिक खोला तरेरै स्कुल आउनुपर्छ, प्रध्यानाध्यापक नहकुलमान रेश्मीले बताए। रेश्मीले भने विद्यार्थीलाई आवत जावत गर्न निकै कठिन भइरहँदा पनि पुल बनाउन कसैले अहिलेसम्म चासो दिएका छैनन्। विद्यार्थीको खोला तर्दा कति किताव, कपडा बगायो, यस्तो समस्यासँग सामना गर्दै साना विद्यार्थी स्कुल आउदा समेत यस क्षेत्रमा झोलङ्गे पुल भएपनि बनाउन कसैले चासो नदिदा देशमा सरकार नै नभएको महसुस हुने गरेको प्रअ रेश्मीले बताए। वडा अध्यक्ष दामोदर न्योपानेले भने बाणगंगा खोलामा झोलङ्गे पुल बनाउने चर्चा पन्चायतकाल देखी चल्दै आए पनि अझै पुल बन्न नसकेको बताए। हिउँदमा सजिलो ठाउँबाट खोला तर्न सकिए पनि बर्खाको समयमा खोला तर्न सकिँदैन। स्वीकृतिले रोकियो : डिभिजन कार्यालय ७० मिटर बढी लामो ११ मिटर चौडाईको डबल गाडि हिँड्ने पक्की पुल निर्माणका लागि गत आर्थिक वर्षमा डिपिआरको काम पूरा भए पनि विभागमा स्वीकृति नभएकाले काम अगाडि बढ्न नसकेको डिभिजन प्रमुख ईश्वरबहादुर रिजालले बताए। लागत एकिन भएको छैन रिजालले भने फटाफट काम भएमा २ वर्ष भित्रमा पुलनिर्माणको काम सम्पन्नहुने छ। बर्खामा खोला बढेपछि अधिकांश विद्यार्थी घरमै बसेर पढ्न बाध्य छन्।
थाहा खबर