काठमाडौं, भदौ १९ । घुसकाण्डमा अदालतबाट दोषी ठहर पूर्वसभासद् डोलबहादुर (डिबी) कार्की जेल चलान भएका छन् अदालतको फैसलापछि फरार हुँदै आएका स्याङ्जा घर भई हाल काठमाडौँ महानगरपालिका-१४ कलंकी बस्ने कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार बिहान पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेश गरेको थियो। अदालतको आदेशले कार्कीलाई आजै जेल चलान गरिएको ब्युरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए। उनलाई कारागार कार्यालय डिल्लीबजार पठाइएको छ। घुस काण्डमा सर्वोच्च अदालतको गत असार १७ गतेको फैसलाले एक लाख रुपैयाँ जरिवाना र ६ महिना कैद हुने फैसला सुनाएको थियो। वि.सं. २०६७ भदौ १४ गते राजकुमार राईलाई नेपाल प्रहरीको इन्सपेक्टर बनाइदिने बहानामा रकम लिइ स्वामी ब्रम्हानन्द उदासीनले दुई लाख पाँच हजार र कार्कीले एक लाख लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो। विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत चार-चार महिना कैद र बिगोबमोजिम एक-एक लाख जरिवाना हुने फैसला सुनाएको थियो। प्रतिवादी डोलबहादुर कार्की तत्कालीन संविधानसभा तथा व्यवस्थापिका-संसद्को सभासद् भएकाले उक्त ऐनको दफा २४ बमोजिम थप दुई महिना कैद सजाय थप गरी ६ महीना कैद र एक लाख जरिवाना हुने ठहर गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो। थाहा खबर