ओम प्रकाश यादव, रौतहट, भदौ १७।
रौतहट, सर्लाही, बारा र पर्सा गरी यी चार जिल्लाको सेवाग्राहीको उपचारको लागि पहिलो रोजाईमा विरगंजका अस्पतालहरु नै पर्ने गर्छन । राम्रो डाक्टर, राम्रो अस्पताल र राम्रो सेवा सुविधा रहेको र सर्वसुलभ दरमा भरपर्दो उपचार गराउन पाईन्छ भन्दै विरामी विरगंज नै जानेगर्दछन । तर त्याँहा गएपछि विरामी सोचो जस्तो उपचार सेवा नपाएर निरास हुने गर्दछन । विरामी सस्तो उपचार सेवा पाउँनुको सटा झन महंगो स्वास्थ्य उपचार गराउन बाध्य हुन्छन । विरगंजमा रहेका अधिकांश निजी अस्पतालहरुले सेवाग्राहीलाई दिन दहारै ठगि गरिरहेका छन ।
विभिन्न बहाना बनाएर सेवाग्राहीसँग चर्को रकम असुल्ने धन्धामा विरगंजका अस्पतालहरु लागेका छन । महिलाको डिलेभरी, अप्रेशन सहित विभिन्न शुल्कको नाममा त्याँहाका निजी अस्पतालहरुले सोझासाझा व्यक्तिहरुसँग गैर कानुनी रुपमा मोटो रकम असुली ठगि गरिरहेका छन । आम जनताले विश्वास गरेको अस्पतालले नै विभिन्न बहानामा ठगने गरेका छन । पैसा कमाउने लोभमा विरगंजका नाम चलेका निजी अस्पतालहरु सुत्केरी महिलालाई ठग्निुका साथै बलजवरजस्ती पेटको अप्रेशन गरेर उनिहरुको जिवनसँग पनि खेलवाड गरिरहेका छन ।
नर्मल डिलेभरी हुने अवस्था हुँदा हुँदै पनि चिकित्सकले नर्मल हुँदैन अप्रेशन गर्नुपर्छ भन्दै विरामीलाई दबाब दिने गरेको पाईएको छ । चिकित्सकले सुत्केरी महिलालाई विभिन्न बहाना बनाएर पेटको अप्रेशन गर्ने गरेको र अप्रेशन गरेवापत ७५ हजार देखी एक लाख रुपैयासम्म लिने गरेको उपचार गराएर घर फर्केका सेवाग्राहीहरुले बताएका छन । त्यस्तै नर्मल डिलेभरीको पनि २५ हजार देखी ४० हजार सम्म रकम लिने गरेका कारण विरामी मर्कामा परेका छन ।
डाक्टरले लिने गरेको मनोमानी शुल्कका कारण विरामी थप पिडित बन्ने गरेका छन । विरगंजको भन्सार रोड जाने बाटो स्थित रजत जयन्ती चौकमा रहेको नेपाल इण्डो हस्पिटलले उपचारको नाममा सेवाग्रहीलाई ठगि रहेको छ । इण्डो हस्पिटलले नर्मल डिलेभरीको २० हजार देखी ३० हजार सम्म र पेटको अप्रेशनको ७५ हजार देखी माथी रकम लिरहेका उपचार पछि घर फर्केका पिडित परिवारहरुले बताएका छन । अस्पतालमा जाने विरामीलाई यो चेक गराउनुपर्छ त्यो चेक गराउनुपर्छ भन्दै झुक्याएर मोटो रकम लिई ठग्ने गरेको रौतहटको माधोपुरबाट श्रीमतिलाई डिलेभरी गराउन गएको ओम प्रकाश यादवले बताए ।
अस्पतालका डाक्टरले आफनो श्रीमतिको नर्मल डिलेभरी हुने अवस्था हुँदा हुँदै पनि पैसाको लोभमा अप्रेशन गर्नको लागि पटक पटक दबाव दिएको तर आफु कुनै पनि हालतमा अप्रेशन गर्न नदिने अडान लिएपछि पछि ति डाक्टरले सफलतापूर्वक नर्मल डिलेभरी गराएको यादवले बताए । ठुला अस्पतालमा विश्वास कै भरमा विरामी उपचार गर्न पुग्छन् । तर उपचारको नाममा ठगी गरेको पत्तै पाईदैन । स्वभाविक हो एउटा विरामी पैसा भन्दा पनि उपचार भएर स्वस्थ भएर घर फर्किन पाए पुग्छ भन्ने हुन्छ तर अस्पतालले यही मौकाको फाइदा उठाउने गरेको छ ।
उपचारका लागि अस्पताल पुग्ने बिरामी जीवन र मरणको दोसाँधमा हुन्छन् तर अस्पतालले सेवा दिनुको साटो बिरामीबाट गैरकानुनी रूपमा रकम असुल्ने गरेकोले विरामीहरु निरास भएका छन । केही अस्पतालले बेड चार्जको नाममा रकम असुलेका छन् भने, केहीले डाक्टरले लिने शुल्कको नाममा रकम लिने गर्छन् । स्वास्थ्य सेवाको नाममा यो विरामी माथि गरिने अत्याचार पनि हो यो सर्वसाधारणलाई मंहगो उपचार हुनुको कारण पनि यहि हो ।
सर्वसाधारणले सरकारी अस्पतालमा राम्रो सेवा नपाउने र निजी अस्पतालले पनि सर्वसाधारण संग ठगि गरिहरहंदा सााधारण उपचार गर्न पनि लाखौ खर्चिनु पर्ने बाध्यता छ । विरगंजमा रहेको अधिकांश निजी अस्पतालहरु गरिव सोझाँसाझा नागरिकलाई झुक्याएर गैर कानुनी तवरबाट बढी रकम लिई वर्षोदेखी दिन दहारै ठगि गर्दै आएपनि सम्बन्धित निकायले कार्यवाही गर्न सकेको छैन । पछिलो समय अस्पतालहरुको यस्तो बदमासीले आम सर्वसाधारणको विश्वास पनि घटदै गएको छ । अस्पतालहरुको यस्तो रबैयाले सर्वसाधारण नागरिक अब विरगंज उपचार गराउन जानबाट पनि डराउन थालेका छन ।