भदौ १६, २०७६ ओखलढुङ्गा : सिद्धिचरण नगरपालिका–४ का रुम्जाटारका ३७ वर्षीय सानोकाजी ठटाल खोलाले बगाएर बेपत्ता भएका छन्। आइतबार अपराह्न साढे ५ बजे गाई पुर्याउन चिसंखुगढी गाउँपालिका–८ मा हिँडेका ठटाल ठोट्ने खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका हुन्। खोलाले बगाएको गाई घटनास्थलभन्दा करिब १०० मिटर तल सकुशल फेला परेको छ। ठटाल अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए। बेपत्ता ठटालको विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएका प्रहरी टोली र स्थानीयले खोजतलास गरिरहेको प्रहरीले बताएको छ।
थाहा खबर