काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकमा २४ घण्टामा ७ जना इन्जिनियर घुससहित पक्राउ गरेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली नदी नियन्त्रण आयोजनामा मात्र ३ जना इन्जिनियर पक्राउ गरेको छ ।

आयोगले शनिबार इन्जिनियरहरु कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई १५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गर्नुभयो ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । यस्तै आयोगले सिरहाको गोलबजार नगरपालिकाका सवइञ्जिनीयर उमा श्रेष्ठलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । शौचालय निर्माणको भुक्तानी सहज गरिदिने भन्दै सेवाग्राहीसँग उनले घुस मागेको आयोगले जनाएको छ । आयोगले श्रेष्ठलाई शुक्रबार पक्राउ गरेको भए पनि शनिबार सार्वजनिक गरेको हो ।

यस्तै आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनीयर प्रकाश अधिकारीसहित तीन जनालाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता कोइरालाका अनुसार सिनियर डिभिजनल इञ्जिनीयर अधिकारीले विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीसँग घुुस मागी बा १ झ ५२८० नम्बर को सरकारी गाडीमा साउन २ गते काठमाडौं आउँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले भक्तपुरको जगातीबाट पक्राउ गरेको हो ।

आयोगका अनुसार निजको साथमा १३ लाख ३८ हजार ५ सय नगद र त्यही गाडीमा रहेका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साहको साथबाट १ लाख २९ हजार १ सय ५ रुपेयाँ द फेला पारेको छ । आयोगले अधिकारी, साह र सवारी चालक खड्कालाई गाडीसहित नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । यो समाचार जनता समाचारमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here