रौतहट, २९ असार ।
रौतहटमा आएको बाढीबाट विभिन्न स्थानमा गरि चार जनाको मृत्यु भएको छ ।
चार दिनदेखि लगातार परेको पानीका कारण आएको बाढीले रौतहट बेहाल बनेको छ भने अधिकांश भाग अहिले पनि जलमग्न रहेको छ । रौतहटको पूर्वीक्षेत्रमा रहेको बागमती तथा पश्चिमी क्षेत्रमा रहेको लालबकैया नदीको बाढीले ठाँउ ठाँउमा तटबन्ध भत्काएपछि जिल्लाको जनजीवन अस्तव्यस्त बनेको हो ।
कटहरियामा दुई, देवाहीमा दुई, भसेढवा, बुनियाद, परोहा, करुनिया, ईनरवा, जिगडवा बेलविछवालगायतका स्थानमा गरि लालबकैया नदीका ११ स्थानमा तटबन्ध भत्केको छ । तटबन्ध भत्किँदा बाढी गाउँ पसेको छ ।
यसैगरी, बागमतीको लक्ष्मीपुर, धर्मपुर, बडहर्वा, धुर्वा, छोटौल, महिनाथपुर, मानपुरसहित ७ ठाउँमा बाढीले तटबन्ध भत्काएको छ ।
तटबन्ध भत्केको ठाउँमा अस्थायी मर्मत गर्न बाँस, जाली तथा बोरासहित प्राविधिकटोली पठाइ सकिएको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख राजकुमार श्रीवास्तवले बताएका छन् । बाढीले जिल्लामा कम्तीमा दुई हजार घर भत्काएको छ । जिल्लामा २५ भन्दा मानिसको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बाढीले जिल्लामा करिब पाँच लाख प्रभावित भएको अनुमान प्रहरीले गरेको छ ।
सदरमुकाम गौरसहित जिल्लाका अन्य स्थानमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत स्थानियहरु उद्धार जारी राखेका छन् । जिल्लामा शनिबारसम्म तीन जना बेपत्ता भएका छन् । शनिबार दुर्गा भगवती गाउँपालिका ४ पचरुखीका ४० वर्षीय वीरेन्द्र मिश्रलाई बाढीले बगाएर बेपत्ता बनाएका थियो । आज दिउसो मिश्रको शव भेटेको छ । यसैगरी, गढीमाई नगरपालिका वडा नं.६ पकहा बखरीका ५० वर्षीय आनन्दी देवी यादव, ईशनाथ नगरपालिका वडा नं.३ का ४० वर्षीय रामपुकार राउत र गौर नगरपालिका वडा नं. ३ का शिव मंगल राउत पनि बेपत्ता रहेको थियो । बेपता ३ जनाको शब आज भेटाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम डिएसपी नवीन कार्कीले जानकारी दिनु भएको छ ।