रौतहट,२९ असार ।
रौतहटमा आएको बाढीले भर्खरै मात्र गरिएको रोपाईहरु समेतलाई डुबानमा पारी कृषि क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको छ ।
माछा पोखरीका किसानलाई सबैभन्दा बढी क्षति पुगेको हो । जिल्लाका सयौँ पोखरीमा बाढीको पानी पसेपछि माछा बगाएर लगेको व्यवसायीले बताएका छन् । गरुडा नगरपालिका र गढीमाई नगरपालिकाका दर्जन बढी पोखरीको माछा बगाएको गढीमाईका मेयर श्यामप्रसाद यादवले बताए । बाढीको पानी चारैतीर रहेकाले क्षति विवरण संकलनका लागि नगरपालिकाले कर्मचारी खटाइसकेको यादवले बताए ।
यसैगरी, जिल्लामा दुई दर्जनभन्दा बढी कुखुरा फर्ममा बाढीले क्षति पु¥याएको छ । तयारी अवस्थामा रहेका कुखुरा तथा चल्ला बाढीले बगाउँदा कम्तीमा चार करोडभन्दा बढीको क्षति पुगेको रौतहट कुखुरा व्यावसायी संघका कोषाध्यक्ष राकेश जयसवालले बताए । अत्यधिक वर्षा र बाढीले जिल्ला सदरमुकामसहित अन्य बजार पनि डुबानमा परेका छन् । पसल र गोदाम डुबानमा परेकाले रौतहटका व्यापारीलाई अर्बौंको क्षति पुगेको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताएका छन् ।
जिल्लामा सदरमुकाम गौरमा टेलिफोन र विद्युत सेवा पनि अवरुद्ध भएको छ । ठाउँठाउँमा बिजुलीको पोल ढलेको र गौरस्थित सबस्टेसनको ब्रेकर र इन्भर्टरमा बाढीको पानी पसेको विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण गौर शाखाका प्रमुख उमेश यादवले जानकारी गराएका छन् । ,जिल्लामा बाढीले बितण्डा मच्चाएको भए पनि सरकारी राहत भने नआइपुग्दा बाढी पीडितमा निराशा देखिएको छ । निरन्तर पाँच दिनदेखि परिरहेको अविरल वर्षासँगै शुक्रबार आएको बाढीका कारण सदरमुकाम गौरलगायत आसपासका स्थानीय खाद्यान्न अभावमा भोकै रात बिताउन बाध्य छन् । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसमेतले राहत सामग्री पठाएको छैन ।