काठमाण्डौं, २० असार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुनः नदीमै आएर मिसिने बताएका छन् ।
विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेकाहरुलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले नदी बग्दा केही भंगालाहरु बाटा भूलेर दायाँबायाँ लागे पनि अलि पर पुगेर सबै भंगाला मुल बहाबमा नै मिसिने बताएका हुन् ।
उनले दुई तिहाइ अटेको कम्यूनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र हैन सिंगै समाजवादी पार्टी पनि अट्न सक्ने बताए । नेपालमा पहिले राजनीतिका मात्र कुरा हुने गरेकोमा अहिले विकासका कुराले प्रधानता पाउन थालेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले केही केहीले परपरैबाट पार्टी र सरकारको आलोचना गर्ने गरेको बताए । कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेताहरु कल्पना धमला,देवेन्द्र पराजुली,गुणखर भूसाल,मनु हुमागाईं लगायत नेकपामा प्रवेश गरेका छन् ।