असार ११ एजेन्सी
साविक विजेता अष्ट्रेलियाले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । मंगलबार लर्डसमा ६४ रनको जित दर्ता गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्षस्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो ।
२८६ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा २२१ रन मात्रै बनाउन सक्यो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रन बनाए पनि अन्य खेलाडी भने सस्तैमा समेटिए । शून्य रन हुँदा नै पहिलो विकेटको रुपमा जेम्स भिन्चलाई गुमाएको इंग्ल्यान्डले १५ रन हुँदा दोस्रो विकेट गुमाएको थियो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए । ३७ ओभरको अन्तिम बलमा मिचेल स्टार्कले बोल्ड आउट गर्नु अघि उनले १ सय १५ बलमा ८ चौका र २ छक्का प्रहर गरे । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा इंग्ल्यान्ड पराजित हुन पुगेको हो ।
इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका जासन बेहरेन्र्डोफले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४४ रन खर्चेर पाँच विकेट लिएका थिए । त्यस्तै, मिचेल स्र्टाकले चार विकेट लिए । मार्कस स्टोइनिसको नाममा १ विकेट रह्यो ।
त्यसअघि लर्डसमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनायो । अष्ट्रेलियाका ओपनर आरोन फिन्चले १ सय १६ बलमा ११ चौका र २ छक्का सहित १ सय रनको योगदान दिए । यो फिन्चको वान डे करियरको १५ औं शतक हो । कप्तान फिन्चले शतक बनाउँदा उनका ओपनिङ पार्टनर डेभिड वार्नरले ५३ रनको योगदान दिए। उनले ६१ बलमा ६ चौका प्रहार गरे।
उस्मान खावाजा २३ रन र स्टेभिन स्मिथ ३८ रनमा आउट भए। ग्लेन म्याक्सवेल ८ बलमा १ चौका र १ छक्काको मद्दतमा १२ रनमा जोडेर आउट भए। मार्कोस स्टोइनिस ८ रनमा रनआउट भए भने पाट कमिङ्ग्सले १ रन मात्र जोड्न सके। एलेक्स कोरीले नटआउट ३८ रन जोडे। उनले २७ बलमा ५ चौका हिर्काए।
बलिङमा इङ्ल्याण्डका क्रिस ओएक्सले २ विकेट लिए। जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले १–१ विकेट हात पारे।
यो जितसँगै अष्टेलिया ७ खेलमा ६ मा जित र १ मा हारका साथ शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड ७ खेलमा ४ मा जित र ३ मा हारका साथ चौथौ स्थानमा छ । हारसँगै घरेलु टोली इंग्ल्यान्डको भने शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना कठिन भएको छ ।