मनहरी । मिहेनत र लगनशीलता भए गाउँमै स्वरोजगार बन्न सकिन्छ । कृषि प्रधान मुलुकमा कृषि पेसालाई नै व्यवसायिक बनाउन सकने जो कोही बिदेश जानुपर्दैन भन्ने गतिलो उदाहरण बनेका छन् मनहरी गाउँपालिका वडा नं ७ बगरका सिंहबहादुर घलान । उनले अहिलेको सिजनमा लोकल जातको काँक्रो उत्पादन गरी बिक्री गरिरहेका छन् ।
अरुकै जग्गा भाडामा लिएर उनले काँक्रो खेती गरेका हुन् । १२ कट्ठा जग्गा भाडामा लिएर काँक्रो खेती गरेका उनले दुईलटमा २ लाख ४० हजार रुपियाँ बराबरको काँक्रो बिक्री गरिसकेको जानकारी दिए । उनका अनुसार काँक्रो खेतीमा ३ लाख ५० हजार लगानी भएको छ ।
अबको लटमा काँक्रो बिक्री गर्दा साँवा उठ्ने र बाँकी लटमा फाइदा हुने उनले अनुमान गरेका छन् । सिंहबहादुरले स्थानीय मनहरी बजारदेखि चितवन र गोरखासम्म काँक्रो पु¥याएका छन् । उनले उत्पादन गरेको लोकल जातको काँक्रो प्रतिकेजी ९० रुपियाँमा बिक्री भइरहेको छ ।
‘पहिला पहिला बन्दाकोभी, मुला, काउली जस्ता तरकारी लगाएको थिएँ’, सिंहबहादुरले भने–‘भाउ नपाएपछि यसपटक काँक्रो खेतीमा लागेको हुँ ।’ व्यवसायिक तरकारी खेती गरेरै उनले आफ्नो ६ जनाको परिवारको दैनिकी चलाइरहेका छन् ।
अगामी दिनमा पनि तरकारी खेतीलाई व्यवसायिक बनाउँदै अघि बढ्ने भन्दै सिंहबहादुरले सरकारले पनि आफ्नो काममा साथ दिनुपर्ने बताए । साथै युवाहरु विदेश जाने क्रम छाडेर तरकारी खेतीमा लाग्नका लागि पनि उनले सुझाव दिएका छन् ।