मनहरी । मकवानपुरको विकट गाउँ काँकडा र राक्सिराङका दुईजना नेता ३ नं प्रदेशसभाको सांसद बनेका छन् ।

हाल राक्सिराङ गाउँपालिका अन्तर्गत पर्ने दुबै साबिकका गाविसमा बसोबास गर्दै आइरहेका ओमबहादुर घलान र सन्तबहादुर चेपाङ सांसद बनेका हुन् । घलान नेकपा माओवादी केन्द्र र चेपाङ नेपाली काँग्रेसबाट समानुपातिकतर्फ प्रदेश सांसद भएका हुन् ।

तत्कालीन शसस्त्र विद्रोहको नेतृत्व गरेका नेकपा माओवादी केन्द्रका ओम घलान (प्रदीप) प्रदेश सभा सांसद हुने पक्का भएको छ । नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाउन ठीक्क पारेको सांसद सूचिमा घलानको नाम उल्लेख छ । राक्सिराङ गाउँपालिका चौकीटार घर भएका घलान हाल मनहरी ७ रमन्टारमा बस्दै आउनु भएको छ । उनी शसस्त्र युद्धका बेला ब्रिग्रेड कमाण्डर रहेका थिए । २०५५ साल माघ १० गते माओवादी जनमुक्ति सेनामा स्क्वायड सदस्यका रुपमा प्रवेश गरेका घलान विभिन्न युद्धहरुमा सहभागी हुनुहुन्थ्यो । उहाँ खुला राजनीतिमा आउनुअघि ब्रिग्रेड कमाण्डर रुपमा कार्यरत हुनुहुन्थ्यो भने सेना समायोजन विशेष समिति अन्तर्गतको अनुगमन समिति सदस्य समेत हुनुहुन्थ्यो ।

यसैबीच नेपाल चेपाङ संघका केन्द्रीय सदस्य समेत रहेका चेपाङ अगुवा सन्तबहादुर प्रजा ३ नं प्रदेश सांसद बन्नु भएको छ । काँकडाको विकट धिराङ घर भएका उनलाई नेपाली काँग्रेसले समानुपातिकतर्फ सांसद बनाएको हो । जनजाति कोटामा रहेका सन्तबहादुरले नेपाल चेपाङ संघको जिल्ला अध्यक्ष, नेपाली काँग्रेस जिल्ला आमन्त्रित सदस्य, महाधिवेसन प्रतिनिधि तथा राक्सिराङ गाउँपालिका कार्यपालिका सदस्य भई कार्य गरिसक्नु भएको छ । उहाँसँगै चेपाङ समुदायको तर्फबाट सांसद बन्नेहरुको संख्या हालसम्म तीन पुगेको छ । यसअघि २०६४ सालमा नेकपा एमालेले मकवानपुरको काँकडाका गोविन्दराम चेपाङलाई सांसद बनाएको थियो भने नेकपा माओवादी केन्द्रले गोरखाबाट माया चेपाङलाई सांसद बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here