के जिन्दगीभर राजनीति र समाजसेवामा कपाल फुलाएका गरिव नेताहरुले राजनीति नगर्ने ? राजनीति गर्न ठेकेदारी नै गर्नुपर्ने हो ? काँग्रेस र राप्रपाजस्ता पार्टीमा अध्यक्ष, सभापति वा सांसद र मन्त्री हुन डोजर किन्नै पर्ने हो ? यी प्रश्नहरु अब स्वयम् राजनीतिक पार्टीभित्रका कार्यकर्ताहरुले उठाउनु पर्ला कि नपर्ला ? यो प्रश्नको जबाफ यदि ‘हो’ मा आउने हो भने तपाईं पनि तुरुन्तै ठेकेदारीमा लागेर डोजर किन नकिन्ने ?
विचार, सिद्धान्त, पद्धति र विधिको लिगबाट राजनीति परतिर धकेलिन थालेको छ । जहाँ विधि र बिधानसम्मत गतिविधि र सक्रियता हुँदैन त्यहाँ पक्कै पनि अराजकताले जन्म लिन्छ । र, यात्रा दीर्घकालसम्म रहन सक्दैन । रहँदैन पनि । जसरी रेलको लिगबाट रेल बाहिर गइसकेपछि दुर्घटनाबाहेक अरु बिकल्प हुँदैन, त्यसरी नै राजनीतिले पनि लिगबाहिर जाँदा गन्तब्य पु¥याउँदैन । दुर्घटना हुन्छ नै, अर्थात जनताका आशा, आकांक्षाहरु स्वाभाविक रुपमा त्यतिखेर ओझेलमा पर्छन् र अराजकता हाबी हुँदै जान्छ । जनताका नाउँमा नक्कली नेताहरुको समेत बिगबिगी हुँदै जान्छ ।
पहिलो संविधान सभाको निर्वाचनमा सर्मनाक हार ब्यहोरेका मकवानपुरका काँग्रेसी नेता त्यसयता चाहिँ सफलताको बाटोमा छन् । दोस्रो संविधान सभाको निर्वाचन जित्नु, चारैवटा क्षेत्रमध्ये क्षेत्र नं १ मा मात्रै काँग्रेसको बिजय भएर वाहवाही हुनु, लगत्तै काँग्रेस जिल्ला सभापतिमा जित्नु, त्यसपछि अहिले पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीमा खुमबहादुर खड्को जोडबलमा तानिनु लगायतका उपलब्धीले उनी सफल देखिन्छन् । उनको यो सफलताका भित्री कारणहरु, परिणामहरु र आगामी दिनका यात्राहरुका बारेमा भने जोकोहीले चर्चा, परिचर्चा र विश्लेषणहरु नगरेका हुन सक्छन् ।
जनमुखी नेता रुपचन्द्र बिष्टको थाहा अभियानबाट राजनीतिक यात्रा थालेका बानियाँ यतिखेर मकवानपुरमा मात्र होइन, केन्द्रको राजनीतिमा पहुँच राख्ने नेता बनेकामा कुनै शंका छैन । यसका पछाडि ठूलो आर्थिक कारण छ । उनी आर्थिक रुपमा समृद्ध छन् ।
निर्वाचनहरुमा साम, दाम, दण्ड, भेद प्रयोग गर्न सक्छन् । किनकी लामो समयदेखि ठेकेदारी पेसा संहालेका उनी अहिले पनि सोही पेसाबाट भागेका छैनन् । बरु राजनीति र ठेकेदारीलाई सँगै लैजाँदा झन् फलिफाप हुँदै गएको छ । जुनसुकै निर्वाचनहरुमा पैसा खन्याएर उनले आफ्नो पकडमा पार्ने गर्छन् । आफ्नो क्षेत्रमा निर्वाचन जित्नका लागि उनले तत्कालीन बैद्य माओवादी, राप्रपा तथा तत्कालीन एमाओवादी केन्द्रसँग पनि सेटिङ हानेका थिए । तत्कालीन राप्रपा नेपाल अध्यक्षकी पत्नी प्रलिता थापा मकवानपुर क्षेत्र नं १ का उम्मेदवार हुनु, एमालेले दमदार उम्मेदवार नपठाउनू र वैद्य माओवादीले आर्थिक लाभसहितको मत खन्याउनु उनको लागि सौभाग्य बन्न पुग्यो । त्यसो त काँग्रेस जिल्ला अधिवेसनमा नै १ करोड बढी खर्च गरिएको चर्चा काँग्रेसबृत्तमा छ । क्षेत्रीय अधिवेसनहरुमा आफू अनुकूल नेतृत्व ल्याउनमा उनको आर्थिक लगानी चर्कै छ । सभापति शेरबहादुर देउवानिकट भनिएका बानियाँभन्दाअघि सभापति पदमा पुराना र पार्टीमा ठूलो योगदान गरेका नेता माइकल रामचन्द्र अर्याल उठ्ने चर्चा थियो । तर, राजनीति घुम्दैफिर्दै आर्थिकतिर लम्केपछि माइकल रामचन्द्र अर्याल साइड लागे । किनकी उनी गरिव तर उँचो राजनीतिक छबि भएका नेता थिए ।
जिल्लामा चुनावअघिदेखि नै पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्यायसँग बानियाँको मनमुटाव छ । कारण हो, देउवासँग बानियाँ धेरै नजिकिनू । यद्यपि सदैव देउवा प्यानलबाट महालक्ष्मी उपाध्यायको केन्द्रदेखि जिल्लामा एकछत्र राज छ । दुवै नेताहरु एकापसमा यसरी प्रतिस्पर्धा अहिले पनि गरिरहेका छन् । यही द्वन्द्वका बीच अहिले बानियाँले आफ्नो अलग्गै बाटो रोजेका छन् । उनी अहिले देउवाबाट खुमबहादुर खड्काको बाटोमा हिँडेका छन् । उनैको कोटामा राज्यमन्त्री बनेर अहिले जिल्लामा प्रतिद्वन्द्वी पार्टीहरुलाई त देखाइरहेका छन् नै स्वयम् काँग्रेसभित्र पनि महालक्ष्मी उपाध्याय, पूर्व जिल्ला सभापति रघुरमण न्यौपानेहरुलाई समेत आफ्नो हैसियत बृद्धि भएको प्रमाणित गरिरहेका छन् । जिल्लाभर फूलमाला, अबिर लगाएर उनी यतिखेर स्वागत र सम्मान खाँदै हिँडिरहेका छन् । कम्युनिष्टहरुले भन्नेगरेको ‘बुर्जुवा शैली’ उनका लागि यतिखेर सही लिग बनेको छ ।
बानियाँको राजनीति र ठेकेदारी एकसाथ अघि बढेको छ । राजनीतिक पहुँच पु¥याएर निर्माणका ठूला योजनाहरु पार्ने र सोही योजनाको ठेक्का पनि आफ्नै कन्ट्रक्सनले पार्ने उनको शैली छ । त्यति मात्र होइन, सो योजना पूरा हुँदा त्यस वरपरका जग्गाको भाउ बढ्ने भएकाले योजना पार्नासाथ जग्गा खरिद गरेर सम्पति जोहो गर्ने र प्लटिङ गर्ने उनको कम्पनीको शैलीले जिल्लाको राजनीतिमा असामान्य क्रियाकलाप देखाएको छ । एकै व्यक्तिले योजना पार्ने, कार्यान्वयन गर्ने, अनुगमन गर्ने र उपभोक्ताको रुपमा समेत रहने परिपाटी ठीक हो वा होइन ? सान्दर्भिक बहसको खाँचो छ ।
यता त्यस्तै अर्का पात्रको कुरा गरौँ । तत्कालीन पञ्चायतका हिमायती कमल थापा प्रजातन्त्र आएपछि पनि उदाए, शाही कू को प्रभाव सकिएपछि लगभग पतन नै भइसकेपछि पनि फेरि गणतन्त्रमा राम्रै उदाए । राप्रपा र राप्रपा नेपालको एकीकरणपछि उनीमा झन् उत्साह बढेको छ । राजतन्त्र र हिन्दू धर्म ल्याएरै छोड्ने उद्घोषका साथ मन्दिरका पुजारी मात्र होइन, केही थान पास्टरहरु समेत अघिपछि लगाएर हिँडेका छन् । त्यसो त उनी राष्ट्रिय हाइट भएका र अर्थ राख्ने नेता हुन् । उनका बारे खास टिकाटिप्पणी गर्ने ठाउँहरु गणतान्त्रिक व्यवस्थाका अगुवाहरुले मज्जैले दिएका छन् ।
टिप्पणी गर्न खोजिएको अर्का पात्र चाहिँ उनका भाई अर्थात माननीय गणेश थापा हुन् । जो ९ महिनादेखि मकवानुरमा जमेर पूर्णकालीन राजनीतिमा छन् । थापाको शैली र राज्यमन्त्री बानियाँको राजनीतिक शैली उस्तै छ । युवाहरु बटुलेर फुटबल बाँड्ने, आफ्नै व्यक्तिगत धन खर्चेर छात्रबृत्ति बाँड्ने, दीर्घरोगीहरुको उपचारमा व्यक्तिगत धन बाँड्ने लगायतका शैलीहरु थापाका छन् । त्यसो त संविधान घोषणा गर्नुअघि लिइएको सुझाव संकलन कार्यक्रम भाँड्न लागेपछि मकवानपुरमा एमालेको प्रतिकारमा टाउको फुटेका थापाको इतिहाँस राजनीतिमा भन्दा पनि खेलक्षेत्रमा छ ।
निरन्तर लामो समय एन्फा अध्यक्ष भएका थापा म्याच फिक्सिङसहित अन्तर्राष्ट्रिय फुटबल संगठनहरुमा निर्वाचनका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले आँखा लगाएका र छानबीनमा परेका व्यक्ति हुन् । यतिखेर उनी मकवानपुरको क्षेत्र नं १ मा केन्द्रित रही राजनीतिक गतिविधि अगाडि बढाइरहेका छन् । आफू चुनाव लड्नका लागि होइन, जनताको सेवा गर्न आएको भन्दै गाउँघर धाइरहेका उनी पनि कतिपय सामाजिक सहयोगहरुमा आर्थिक रुपमा सामेल भएर त्यसलाई राजनीतिसँग दाँज्न चाहिरहेका छन् । विभिन्न बैँक, संस्थाहरुसँगको समन्वयमा एम्बुलेन्सहरु ल्याउने र जिल्लाका विकट गाउँहरुमा बितरण गर्ने र त्यसको जस लिने काममा उनको भूमिका छ । जनता पनि अरु नेताभन्दा यिनै पो ठिक कि भनेर यतिखेर चासोपूर्वक हेरिरहेका छन् ।
यस्तै शैली भएका अर्का नेता छन् जिल्लामा । तिनको नाउँ हो–जयराम लामिछाने । अन्तर्राष्ट्रिय ठेक्काको मान्यता प्राप्त यिनको राजनीति शैली पनि बानियाँ र थापाजस्तै छ । क्षेत्र नं २ मा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग संविधानसभा चुनाव लडेपछि श्रेष्ठ र लामिछानेको लडाइँका बीचबाट एमालेले चिट्ठा पारी सुवास ठकुरी बिजयी भएका थिए । चुनावताका र अहिले पनि उनले आफ्ना डोजरहरु प्रयोग गरेर जनताको बाटो आफै बनाउने भन्दै मिहेनत गरिरहेका छन् । व्यक्तिगत सम्पत्ति प्रयोग गरेर बाटो खन्ने र अरु कामहरु गर्नमा यिनी पनि अगाडि छन् ।