सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल स्काउटको नेशनल ओपन स्काउट क्र्यूले निःशुल्क मोतियाविन्दु शल्यक्रियासहितको आँखा शिविर आयोजना गरेको छ ।
तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहकार्यमा आयोजना गरेको निःशुल्क मोतियाविन्दु शल्यक्रिया सहितको तीनवटा शिविरमा ७५ जनाको सफल शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियामा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइत नेतृत्वको टोलीद्वारा मोतियाविन्दुको शल्यक्रिया गरिएको हो ।
आर्थिक अवस्था कमजोर भएका सेवाग्राहीहरूका लागि शिविर फलदायी भएको डा.रुइतले बताए ।
शिविर बाल गीतान्जली स्कूल, अल्पाइन एकेडेमी र त्रिकोण पब्लिक माध्यमिक विद्यालयको सहकार्यमा स्काउटहरूको सक्रियता र समर्पणका कारण सफल भएको हो ।
नेपाल स्काउट, नेसनल ओपन स्काउट क्र्यूका अध्यक्ष एवम् बाल गीतांजली स्कूलका प्रिन्सिपल महेन्द्रराज घिमिरेले भने,‘सेवा भावनाले नै राष्ट्र निर्माणमा टेवा पुग्छ । स्काउटहरूले जुन समर्पण देखाए, त्यसले हामी सबैलाई गर्वित बनाएको छ ।’
अल्पाइन एकेडेमीका प्रिन्सिपल श्रीराम पोखरेलले भने, ‘विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्वको भावना विकास गराउने यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक छन् । हामी निरन्तर यस्ता सेवामा लाग्नेछौं ।’
त्रिकोण पब्लिक माध्यमिक विद्यालयका प्रिन्सिपल जित बहादुर बस्नेतले भने, ‘शिविरमा सहभागी गराउन पाउनु हाम्रो लागि अवसर हो । विद्यार्थीहरूले व्यावहारिक ज्ञानको अनुभव र सामाजिक सेवाको महत्व बुझ्ने प्लेटफर्मका रूपमा यस्ता कार्यक्रम अतुलनीय हुन्छन् ।’
कार्यक्रमका समन्वयक नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक तथा नेसनल ओपन स्काउट क्र्यूका संस्थापक विदुर गिरीले भने शिविरको सफलतामा सबैको संयुक्त प्रयास रहेको बताए ।
शल्यक्रियाबाट सेवा पाएका धेरैजसो लाभग्राहीहरूले नेसनल ओपन स्काउट क्र्यू, तीनवटै विद्यालय र सम्पूर्ण स्वयंसेवकहरूलाई धन्यवाद प्रकट गरेका छन् । उनीहरूले बिनाअर्थिक भार आँखा उपचार पाउनु भाग्यको कुरा भन्दै आयोजक संस्थाप्रति कृतज्ञता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here