नेसपा (नयाँ शक्ति) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले छिमेकमा भएको ठूलो अर्थतन्त्रसँग लय मिलाएर अगाडि जान सक्यो भने नेपाल बन्ने बताएका छन् ।
शुक्रबार ‘अर्थदृष्टिः अल्पविकासको अर्थ राजनीति’ नामक पुस्तक विमोचन समारोहमा उनले नेपाल गरिबी, बेरोजगारी लगायतको दुश्चक्रमा परेको भन्दै छिमेकमा भएको ठूलो अर्थतन्त्रसँग लय मिलाएर अगाडि बढ्ने हो भने त्योबाट माथि उठ्न सक्ने सम्भावना रहेको बताए ।
उनले भने, ‘नेपालले नयाँ तरिकाले विश्वसँग गति मिलाएर जान सक्यो भने राम्रो हुन्छ । खासगरि छिमेकमा भएको ठूलो अर्थतन्त्रसँग लय मिलाएर अगाडि जानसक्यो भने गरिबी, बेरोजगारी लगायतको दुश्चक्रबाट नेपाल माथि उठ्न सक्ने सम्भावना बढेको छ ।’
यस्तै, उनले राजनीतिक परिवर्तन ल्याए पनि बलिया संस्था बनाउन नसकेको भन्दै ब्यूरोकेसी, वित्तिय संस्था, राजनीतिक संस्था, भ्रष्ट्राचार नियन्त्रण संस्थालगायतका संस्थाहरुलाई बलियो बनाएर अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘हामी किन पछाडि परिरहेका छौ भन्ने कुरा आएको छ । ऐतिहासिक तरिकाले सय वर्ष जसरी पछाडी परि सकेका छौ, अब संरचनात्मक तरिकाले अगाडि बढ्नुपर्छ । राजनीतिक परिवर्तन त ल्याएका छौ तर बलिया संस्था बनाउन सकिरहेका छैनौ । ब्यूरोकेसीको परिमार्जनदेखि वित्तिय, राजनीतिक संस्था, भ्रष्ट्राचार नियन्त्रण संस्थालगायतका संस्थाहरुलाई बलियो बनाउने ।’
साथै, उनले औद्योगिक, कृषिप्रधान अर्थतन्त्र रुपान्तरणको साथै वित्तिय र मौद्रिक क्षेत्रका महत्वपूर्ण नीति परिवर्तन गरि राज्यका संस्थाहरुले विकासलाई गति दिने हो भने पनि नेपाल समृद्ध हुन सक्ने उल्लेख गरेका छन् ।
वृद्धि, वितरण र दिगोपनको बाटो नै अबको बाटो हो भन्ने जुन विषय छ यसलाई गम्भिरतापूर्वक लिन सक्यौ भने नेपाल बन्ने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here