घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानले २०८२ साल वैशाख १ गतेदेखि आयोजना गर्न लागेको श्रीमद्भागवत ज्ञान महायज्ञ राष्ट्रिय धार्मिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
उक्त कार्यक्रम काठमाडौं महानगरपालिका वडा नं. १४ कलंकी स्थित खड्कुलो खोला किनारको खुल्ला जग्गामा हुन गइरहेको प्रतिष्ठानले जानकारी दिएका छ । महोत्सव वैशाख १ देखि ९ गतेसम्म संचालन हुनेछ ।
महायज्ञ अवधिभर श्रद्धालु भक्तजनहरुबाट अर्पित दान दातव्य र आर्थिक सहयोगबाट प्रतिष्ठानले संस्थागत पूर्वाधार निर्माण गरी विभिन्न कल्याणकारी कार्य गर्ने लक्ष्य राखेको पनि जनाएको छ ।
प्रतिष्ठानले सनातन पद्धतिको जगेर्ना गर्न धार्मिक कार्य गर्दै आध्यात्मिक चेतना प्रवर्धन गर्ने, घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका लागि काठमाडौं उपत्यकाभित्र जमीनको व्यवस्था मिलाई प्रतिष्ठानका लागि भवन निर्माण गर्ने, प्रतिष्ठानको परिसरभित्र विभिन्न कल्याणकारी कार्य गर्ने, अध्ययन, अनुसन्धान कार्य गर्न संग्रहालय, पुस्तकालय, वाचनालय, प्रविधि सिकाई स्थल स्थापना गर्ने जस्ता कार्य गर्ने लक्ष्य राखिएको छ ।
त्यसैगरी योग ध्यान र रक्तदान सेवासमेत संचालन गर्ने, बन्धुमिलन, अन्तरसम्वाद तथा अन्य समुदायहरुसँग पनि अन्तरक्रिया अगाडि बढाउन भवन परिसरभित्र बन्ने सभा कक्ष निर्माण गर्ने, गरीव जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्न अक्षयकोष स्थापना गर्ने प्रतिष्ठानको लक्ष्य रहेको छ ।
महोत्सवमा ग्रहशान्ति, तुलादान, रुद्राभिषेक, ब्राम्हणभोजन, प्रसाद वितरण, व्रतबन्ध र चौरासी पूजासमेत समावेश गरिएको छ । पहिलो दिन शोभा शान्ति कलश यात्रा, समुद्घाटन र पूर्वाङ्ग हुने छ । दोस्रो दिन देखि ८ गतेसम्म नियमित पूजापाठ, पाठपारायण, कथावाचन र अन्तिम दिन भागवत विसर्जन, तिलअर्पण तथा साँझ दीप प्रज्वलन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here