सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम नहुने बताएका छन् ।
शुक्रबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान) इमानको दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले सञ्चारसम्बन्धी कुनैपनि कानुनी व्यवस्था गर्दा संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरीत जान नहुने बताए ।
उनले भने,‘संसदमा विचाराधिन विधेयकमाथि तपाईहरुको चासोबारे म जानकार छु । प्रेस स्वतन्त्रतामाथि कुनैपनि हालतमा कुनैपनि किसिमको बन्देज लगाउने काम हुने छैन् । सञ्चारसम्बन्धी कुनै पनि कानुनी व्यवस्था संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरित जानुहुँदैन । कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर बनाउने प्रयत्न गर्नुहुँदैन् ।’
सभामुख घिमिरेले संसद कानुन निर्माण गर्दा तोकतान्त्रिक मूल्य मान्यता र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यतालाई आत्मासाथ गर्ने कुरामा पूर्ण प्रतिबद्धता रहेको बताए ।
विकास निर्माण र पूर्वाधार विकासमा अवरोध अमान्य ः चन्द्र ढकाल
यस्तै सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सबै क्षेत्रका मानिसले इमानमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने छोेटो समयमा आम नेपालीहरुले चाहेको जस्तो समृद्ध नेपाल बनाउन सकिने धारणा राखे ।
उनले भने,‘हामी सबै क्षेत्रका मानिसले इमानमा रहेर आफ्नो जिम्मेवारी वास्तबमा पूरा गर्ने हो भने छोटो समयमा आम नेपालीहरुले चाहेको समृद्ध नेपाल बनाउन सकिन्छ ।’
त्यस्तै उनले कतिपय राजनीतिक पार्टीको तर्फबाट विकास निर्माण, रोजगारी सृजना र पूर्वधार निर्माण गर्ने कुरामापनि विरोध हुने गरेको भन्दै आपत्ति जनाए ।
‘कतिपय राजनीतिक पार्टीकातर्फबाट विकास निर्माणमार्फत रोजगारी सृजना गर्ने, पूर्वधारको विकास गर्ने कुराको विरोध गर्ने गरेको पाइएको छ । कतिपय संघ संस्थाहरुले पनि पूर्वाधार बनाउने कुराको विरोध गर्ने गरेको पाइन्छ । यदी नकरात्मक हिसाबकै मात्रै कुरा गर्ने हो भने, रोजगारी दिने मान्छेको विरोध मात्र गर्ने हो भने कस्तो खालको समाज बनाउन खोज्दै छौं ? ’उनले प्रश्न गरे ।
त्यस्तै नेपाल धितो पत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले वित्तिय साक्षरता एकदमै न्यून रहेको भन्दै सबै वित्तिय क्षेत्रबाट सक्रिय भूूमिका निर्वाह गर्न आवश्यक रहेको बताए ।
उनले भने,‘देशव्यापी रुपमा नै सर्वेक्षणा गर्ने हो भने मलाई लाग्छ । ३०–३५ प्रतिशत भन्दा कम नै वित्तिय साक्षरता रहेको छ । त्यसैले वित्तिय साक्षरता न्यून भएको अवस्थामा पनि सबैको भूमिका सक्रिय हुन आवश्यक छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here