पूर्वउपराष्ट्रपति परमानन्द झाले पत्रकारहरुको कलममा देश बनाउने र बिगार्ने क्षमता भएको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित न्यूज लाइन्स् मिडिया प्रा.लीको नवौं वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा उनले पत्रकारहरुले आफ्नो कलमलाई निष्पक्ष, राम्रो र उपयुक्त समयमा प्रयोग गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘तपार्इंको कलममा देश बनाउने र बिगार्ने क्षमता पनि छ । तरवारभन्दा कलमको महत्व बढि छ । त्यसैले पत्रकारहरुले आफ्नो कलमलाई निष्पक्ष, राम्रो र उपयुक्त समयमा प्रयोग गर्नुपर्छ । मिडियाको अधिकार, मिडियाले देश र समाजलाई दिनुपर्ने देन यही हो । थोरै लेखौँ, सत्य लेखौं र देशलाई राम्रो हुने कुरा लेखौँ ।’यस्तै, उनले मिडियाको अर्थ भनेको सत्य कुरा लेख्नु भएको भन्दै पत्रकारको कलममा निष्पक्षता रहेन भने मिडियाको काम प्रभावकारी नहुने बताए ।उनले भने, ‘मिडियाको अर्थ मैले जानेसम्म साचो कुरा लेख्ने हो । त्यसैले साचो कुरालाई लेख्ने काम गर्नुपर्छ गरेन भने त्यो मिडिया दुषित मिडिया भन्न सकिन्छ, सरकार चलाउनको लागि तीन वटा संस्था हुन्छ तर चौथो सरकारी अंगको रुपमा मिडियालाई पनि लिइन्छ । त्यसैले पत्रकारहरुले झुटो कुरा लेख्नुभयो, निष्पक्षता तपाईंको कलममा रहेन भने मिडियाको काम प्रभावकारी हुँदैन ।’








