नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ। अन्तरमहादेशीय संगठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जनप्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले चेक हस्तान्तरण गरेका थिए ।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि यूरोप र अष्ट्रेलियाका शाखा समितिलाई धन्यवाद दिएका छन् । नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उनले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताए ।

उनले विगतमा टुटफुटलगायत विभिन्न कारणले कमजोर बन्न पुगेको माओवादी आन्दोलनमा पुनः जागरण सुरु भएको उल्लेख गर्दै अहिले लाखौं युवाहरु प्रवासमा रहेकाले उनीहरुलाई संगठित गर्दै देशभित्रै फर्केर केही गर्नसक्ने वातावरणको सिर्जना गर्न पार्टीका प्रवास समितिहरु लाग्नुपर्ने बताए ।

देश सँधै एउटै अवस्थामा नरहने र विस्तारै युवाहरु बिदेशिनुपर्ने बाध्यता कम हुँदै जाने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डामा निरन्तर अघि बढ्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here