नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घर घरमा गएर प्रत्येक व्यक्तिलाई भेट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।बुधबार कीर्तिपुर  १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनमा सभामा गएर सम्बोधन मात्र गर्ने र जनताको आवश्यकतालाई ध्यान दिन नसक्ने जस्ता त्रुटी गरेको भन्दै जनताको मुक्तिका लागि नयाँ आन्दोलन सुरु गर्ने प्रतिवद्धतासहित जनतालाई भेट्न निर्देशन दिएका हुन् ।‘हामीले सायद विगतका निर्वाचनमा कतिपय त्रुटी पनि गर्ने गरेका छौं । सबैलाई म आजैदखि ठूलो सभालाई सम्बोधन गरेर भन्दा जनतासँग भेटेर उहाँहरुको कुरा सुन्ने र आफ्ना प्रतिवद्धता बताउने काममा समय खर्च गर्नुहोला । यस्ता कार्यक्रम धेरै गरेर धेरै भोट आउने होइन,’उनले भने,‘त्यसैले विशेष रुपमा निर्देशन गर्न चाहन्छु । घर–घरमा जानुहोस् । आत्मसमीक्षासहित जानुहोस् । जनताको आवश्यकतालाई ध्यान दिन सकेनौँ, हामी बदलिन चाहन्छौँ । नयाँ अभियान सुरु गर्न चाहन्छौँ, जनताको मुक्तिका लागि नयाँ आन्दोलन गर्छौँ हामीलाई अवसर दिनुस् भनेर आत्मसमीक्षासहित, प्रत्येक व्यक्तिलाई भेट्नुस् । त्यसरी मात्रै निर्वाचन प्रक्रियालाई सकारात्मक बनाउन सकिन्छ ।’उनले आफ्नो सरकारले जनताको पक्षमा, भ्रष्टाचारको विरुद्धमा,सुशासनका पक्षमा र सामाजिक आर्थिक विकासको पक्षमा सकरात्मक प्रयास गरेको दाबी गर्दै त्यो कुरा जनताले पनि राम्रोसँग मुल्याङ्कन गरेको बताए ।उनले भने,‘पहिलाको सरकारले जनताको पक्षमा भ्रष्टाचारको विरुद्धमा,सुशासनको पक्षमा र सामाजिक आर्थिक विकासको पक्षमा सकारात्मक प्रयास गरेकै हो भन्ने कुरा जनताले बुझेको छ । र नयाँ सरकार फेरि किन बन्यो भन्ने कुरा पनि सरकारले बुझेको छ ।’

 

 

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here