इजरायलले संयुक्त राष्ट्रसंघको प्यालेस्टिनी सहायता निकाय ‘युएनआरडब्ल्यूए’ लाई आफ्नो देश र नियन्त्रणमा रहेका क्षेत्रहरूमा काम गर्न प्रतिबन्ध लगाएको छ ।प्रतिबन्धका लागि प्रस्तावित विधेयकमा इजरायली संसद (क्नेससेट) मा ९२–१० को मतले पारित भएको थियो ।यससँगै अब ‘युएनआरडब्ल्यूए’ लाई पूर्वी जेरुसेलम, गाजा र पश्चिम किनारामा ९० दिनभित्र कुनै गतिविधि वा सेवा प्रदान गर्न निषेध गरिनेछ। यस विधेयकले ‘युएनआरडब्ल्यूए’को पूर्वी जेरुसेलमस्थित मुख्यालय बन्द गर्ने अपेक्षा गरिएको छ र यसले गाजामा हुने सहायता वितरणलाई पनि रोक्न सक्नेछ ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनीलाई मानवीय सहायता प्रदान गर्न तयार रहेको बताए तापनि उनले ‘युएनआरडब्ल्यूए’का केही कर्मचारीहरूलाई इजरायल विरुद्ध आतंकवादी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै आएका छन् ।युएनको एक अनुसन्धानले ‘युएनआरडब्ल्यूए’का ९ कर्मचारीहरू अक्टोबर ७ मा इजरायली नागरिकहरूको हत्या र अपहरणमा संलग्न हुनसक्ने ठहर गरेको थियो ।यस कदमले गाजामा झनै संकट थपिने सम्भावना छ । जहाँ दुई मिलियन बासिन्दाहरू ‘युएनआरडब्ल्यूए’ मार्फत प्राप्त सहायता र सेवामा निर्भर छन् ।उता बेलायतका प्रधानमन्त्री सिर कियर स्टारमरले गम्भीर चासोव्यक्त गर्दै गाजामा सहयोग पुर्याउनको लागि ‘युएनआरडब्ल्यूए’ को आवश्यकता रहेको बताएका छन् । त्यस्तै, अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले ‘युएनआरडब्ल्यूए’को कमीले बालबालिका, महिला, र सर्वसाधारणलाई खाद्य, औषधि र पानीको अभाव हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।यसअघि, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले पनि यो विषयमा इजरायली नेतृत्वसँग छलफल गरेका थिए ।‘युएनआरडब्ल्यूए’का प्रमुख फिलिप लाजारिनीले भने इजरायली संसदको यो निर्णयले प्यालेस्टिनी जनताको पीडा झनै बढाउने र यो युएन चार्टरको विपरीत भएको बताएका छन् । यसैगरी, प्यालेस्टिनी राष्ट्रपतिको प्रवक्ताले यस प्रतिबन्धलाई अस्वीकार गर्दै इजरायलले ‘फासिस्ट’ नीति अपनाएको आरोप लगाएका छन् ।








