काठमाडौं । नेपालमा उत्पादित अर्थोडक्स चियाको अक्सन केन्द्र संचालनका लागि निजी क्षेत्रबाट प्रारम्भिक प्रक्रिया शुरु गरिएको छ । चिया क्षेत्रमा क्रियाशील युवा उद्यमीहरुको संस्था ‘टि स्टेसन इन्क’ले काठमाडौं चिया प्रतिस्पर्धाको आयोजना गर्दै अक्सनका लागि तयारी थालेको हो ।
सो अवसरमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली अर्थोडक्स चियाको बजारीकरणका लागि चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मंगलबार नेपालमा उत्पादित अर्थोडक्स चिया उत्पादक कम्पनीहरुको प्रतिस्पर्धा एवम् चिया प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउन चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नुपर्ने बेला भएको बताए ।
उनले भने, ‘नेपालको अर्थोडक्स चिया हाम्रो परम्परा र संस्कृतिमा गहिरो सम्बन्ध भएको एक सम्पदा हो । अर्थोडक्स चियाले विश्वका उत्कृष्ट चियाहरूको बीचमा उभिन सक्ने सम्भावना राख्दछ । अब नेपाली चियाको बजारीकरणका लागि भारतीय बजारको विकल्प खोज्नु पर्दछ । यसको लागि चियाको अक्सन विकल्प हुन सक्ने महशुस गरेको छु । नेपालमा चिया अक्सन केन्द्रलाई सञ्चालनमा ल्याउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नेछु ।’
त्यस्तै, मन्त्री अधिकारीले चिया प्रदर्शनी कार्यक्रमले स्वदेशमा उत्पादित चियाको उपभोगलाई प्रोत्साहन गर्ने उल्लेख गर्दै बलियो राष्ट्रिय बजार निर्माण गर्न मद्दत गर्नेछ विश्वास व्यक्त गरे ।
उनले नेपाली चियाको मूख्य निर्यात बजार भारत भएको तर भारत आफै चियाको ठूलो उत्पादक रहेकाले नेपाली चियालाई उचित मूल्य नदिँदा उत्पादन लागत समेत नउठ्ने गरी चिया बिक्री गर्न चिया उद्योगीहरू बाध्य हुने गरेको बताए ।
उनले भने, ‘नेपाली उत्पादनलाई अन्तरिक बजारमा यसको खपत वृद्धि गर्न यस प्रकारको कार्यक्रम आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु । यस प्रकारको कार्यक्रम आयोजनाले हाम्रो ध्यान उत्पादनको गुणस्तर सुधारमा केन्द्रित गराउन, जैविक र दिगो खेती प्रणालीलाई कायम साथै निरन्तरता दिनलाई प्रोत्साहन गर्ने छ । यस प्रकारको कार्यक्रम आयोजनाले हाम्रा नागरिकहरूलाई नेपाली चियाको उच्च गुणस्तरको बारेमा जागरूकता पैदा गर्नेछ ।’
निजी क्षेत्रलाई चिया प्रशोधन र प्याकेजिङमा लगानी र प्रोत्साहन गर्न सरकार सदैव तयार रहेको समेत उनको भनाइ छ । कार्यक्रममा चिया विज्ञ सोनाम लामाले नेपालमैमा अर्थोडक्स चियाको बजार र संस्कृति निर्माणका लागि युवाहरुले अक्सनका लागि प्रतिस्पर्धामार्फत प्रक्रिया अघि बढाएकोमा खुशी ब्यक्त गरे ।
आयोजक संस्था टि स्टेसन इन्कका अध्यक्ष प्रज्वल प्रधानले चियामै भविष्य खोजिरहेका युवा उद्यमीहरुको पहललाई निजी क्षेत्र र सरकारले सहयोग गर्नुपर्ने धारणा राखे । ‘हामीले पहिलो पटक चिया प्रतिस्पर्धा गराएर अक्सन केन्द्र संचालनका लागि दबाब बढाएका छौं । उद्यमीहरुलाई प्रोत्साहित गराउने प्रयास गराएका छौं । यसमा सरकार र निजी क्षेत्रको पूर्ण साथ एवम समर्थन चाहिन्छ,’ उनले भने ।
चिया उद्यमी उषा सुब्बाले यस्तो किसिमको प्रतिस्पर्धाले उद्योगीहरुलाई प्रोत्साहित गर्ने र चियाको बजारीकरणमा फाइदा पुग्ने धारणा राखिन । काठमाडौंको ठमेलमा चलिरहेको चिया प्रतिस्पर्धामा ५० बढी कम्पनीका एकसय बढी चियाका भेराइटीहरु प्रदर्शनमा राखिएको छ । प्रदर्शनमा राखिएका चियाहरुको गुणस्तर, प्याकेजिङ, स्तरलगायतका विषयलाई समेटेर निर्णायक मण्डलले चिया उद्योगलाई पुरस्कृत गर्ने कार्यक्रम राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here