देउखुरी (दाङ), २९ चैत |

घोराही उपमहानगरपालिका–५ धर्नाको धारापानीमा रहेको पान्डवेश्वर सामुदायिक वनमा यही चैत २५ गते आगलागी भयो । अगलागी भएको देखेपछि धारापानी मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले वनमा डढेलो लागेकाले नियन्त्रणका लागि सबैजनालाई सहयोगको आह्वान गर्नुभयो ।पहिलो दिनमा गाउँघरका नागरिकलाई साथैमा लिएर जाँदा पनि आगो निभाउन सम्भव भएन । राति भइसकेकाले उहाँसहित गाउँले घर फर्किए । भोलिपल्ट बिहान रणसिंह दल गणका नेपाली सेना, धारापानीमा रहेको चौकीका नेपाल प्रहरी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय आगो नियन्त्रणमा आएका सचिव आचार्यले बताउनुभयो । उहाँका अनुसार दश वर्षदेखि जोगाउँदै आएको वनमा एक्कासी आगलागी हुँदा धेरै बोटबिरुवा जलेर नष्ट भएका छन् ।गर्मी मौसमको सुरुआतसँगै दाङमा आगलागीका घटना बढ्दै गएका छन् । वन डढेलोका कारण बर्सेनि ठूलो मात्रामा बोटविरुवा तथा वनस्पतिको क्षति हुने गरेको छ । रोकथामका लागि चाहिने पूर्वाधार निकै कमजोर छ ।

डढेलो नियन्त्रण गर्न अपनाउनुपर्ने विधि प्रक्रिया सबै अपनाए पनि बर्सेनि बढ्दै गएको भन्दै यसले जोखिम थपिँदै गएको जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठ बताउनुभयो । “वन डढेलो नियन्त्रणमा चुनौती थपिँदै गएको छ । रोकथामका प्रयास भइरहे पनि बारम्बार मानवीय कारणबाट रोकथाममा चुनौती भएको छ ।श्रेष्ठका अनुसार डिभिजन कार्यालयअन्तर्गत आठवटा सबडिभिजन छन् । जिल्लामा ८४ हजार हेक्टर वनक्षेत्र रहेको भन्दै सामुदायिक वन समूहको सङ्ख्या तीन सय ८५ वटा रहेका उहाँले जानकारी दिनुभयो ।“समुदायस्तरमा सचेतना बढाउने कार्यक्रम बर्सेनि हुने गरेका छन् । सामुदायिक वन व्यवस्थापन कार्ययोजनाअनुसार काम भइरहेकाले जोखिम कम गर्न सहयोग पुगोस् भन्ने हाम्रो अपेक्षा हो । सोअनुसार काम हुनसकेको भने छैन । दाङमा वन डढेलो नियन्त्रणका लागि तालिमप्राप्त जनशक्ति तथा प्रविधिको अभाव रहेको उहाँको भनाइ छ ।“वनमा आगो लाग्यो भने निभाउन जाँदा ज्यान जाने खतरा छ । दमकल, ट्याङ्कर, जनशक्ति केही छैन । अहिले हामीसँग छजना सशस्त्र वन रक्षक छन् । वन डढेलो नियन्त्रण दस्ताबाट काम भइरहेको छ । उपलब्ध स्रोतसाधनबाट कोसिस जारी छ, योे पर्याप्त भने होइन”, डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले भन्नुभयो ।

डिभिजन वन कार्यालयका अनुसार अहिले जिल्लामा डेढ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । नियन्त्रण लिने काम हुँदै आए पनि सुक्खा मौसम र दमकल पुग्ने बाटाको समस्या रहेकाले जोखिम थपिएको श्रेष्ठले बताउनुभयो । गत वर्ष जिल्लामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो ।प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले विपद्जन्य घटना न्यूनीकरणका लागि जिल्लामा गठित सबै संयन्त्र जिम्मेवार रूपमा क्रियाशील हुनुपर्ने बताउनुभयो । विपद्जन्य घटनाबाट नोक्सान कम गर्नका लागि पूर्वतयारी गर्नुपर्ने उहाँले बताउनुभयो ।अहिलेको सुक्खा समयमा वन डढेलोको जोखिम बढ्ने भएकाले स्थानीयस्तरमा गठित संयन्त्र तथा सञ्जालले आफ्नो भूमिका बढाउँदै सचेतना प्रदान गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । दाङमा १२ वटा वन डढेलो नियन्त्रण सञ्जाललाई अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो ।जिल्लास्थित डिभिजन वन कार्यालयअन्तर्गत आठवटा सबडिभिजन मातहत रहेका सञ्जालमध्ये १२ वटा सञ्जाललाई डढेलो नियन्त्रणका लागि जमसुट, ग्लोभ्स, हेलमेट, जेट सुटर विथ वाटर ब्याग, रेक, रेक हो, स्वाटर गरी छ किसिमका अग्नि नियन्त्रक सामग्री हस्तान्तरण गरिएको वन प्रमुख श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here