राँझा (बाँके), ९ चैत |

खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सरकार सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको जिल्ला कमिटी बैठकलाई आज नेपालगञ्जमा सम्बोधन गर्नुहुँदै उहाँले विगतमा अलपत्र परेका खानेपानी योजनालाई सम्पन्न गरेर जनताको घरघरमा खानेपानी पुर्याउने योजनाका साथ आफू अगाडि बढेको उल्लेख गर्नुभयो । “विगतमा योजना धेरै बनेका छन् तर सम्पन्न हुनसकेका छैनन्, त्यस्ता योजनालाई सम्पन्न गर्न मैले चासो दिएको छु “जनतालाई पर्याप्तरूपमा खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध भएर लागेको छ ।” मन्त्री राईले पानी व्यक्ति–व्यक्तिको खुसी र समृद्धिसँग जोडिएको बताउँदै जनतालाई पर्याप्त पानी पुर्याउन स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गरिने उल्लेख गर्नुभयो । उहाँले पानी गुणस्तरीय, पर्याप्त र पहुँचयोग्य हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा बाँकेमा अलपत्र परेका खानेपानी आयोजनालाई बेलैमा सम्पन्न गरी नेपालगञ्ज, कोहलपुर सहरलगायतका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीको पहुँचका लागि मन्त्री राईको ध्यानाकर्षण गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । यसैबीच एमाले बाँकेको नवौँ जिल्ला अधिवेशन आगामी २०८१ जेठ २ र ३ गते नेपालगञ्जमा हुने भएको छ । जिल्ला कमिटीको बिहीबार बसेको बैठकले अधिवेशन मिति तय गरेको अध्यक्ष कक्षपतिले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here