झापा, ७ चैत |
जिल्लामा लागूऔषध कारोवार र प्रयोग गर्नेहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले यसको नियन्त्रणका लागि समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले लागूऔषध दुव्र्यसन न्यूनीकरणमा अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाइएको बताउनुभयो ।प्रहरीले स्थानीय तहसँग समन्वय गरेर लागूऔषध नियन्त्रण, रोकथाम र अनुसन्धानलाई प्रभावकारी रुपमा काम गरिरहेको छ“तर पछिल्लो समय किशोरकिशोरीहरु लागूऔषध प्रयोगसँगै कारोवारमा समेत संलग्न बढी देखिए । यसलाई रोक्न अभिभावकसँगै साझेदारी सुरु गरेका हौँ ।उहाँका अनुसार आर्थिक वर्ष २०७८-०७९ देखि फागुन मसान्तसम्ममा नौ सय सात जना लागू औषध कारोबारी पक्राउ परेका छन् । जसमध्ये पाँच सय ८० वटा मुद्दा दर्ता भएका छन् ।सो समयावधिमा पुरुष आठ सय १९ र महिला ८८ जना महिला पक्राउ गरिएको छ । लागुऔषध कारोवारमा महिलाको सङ्ख्या पनि बढिरहेको पाइएको छ । जिल्लामा लागूऔषधमा सबैभन्दा धेरै कारोवार र प्रयोग हुनेमा ब्राउन सुगर रहेको तथ्याङक छ । आव २०७८÷७९ देखि चालु आवको हालसम्म करिव पाँच केजी ब्राउन सुगर बरामद गरेको प्रहरीको भनाइ छ ।उपरीक्षक केसीले जिल्लाका मुख्य सहरहरु विर्तामोड, काँकरभिट्टा, दमकलगायत ग्रामीण क्षेत्र र विद्यार्थीहरुसँग लागूऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले लागूऔषधकै कारण जिल्लामा अपराधिक घटना समेत बढ्दै गएको बताउनुभयो ।जिल्लामा हत्या हिंसा, बलात्कारलगायतका जघन्य अपराधका घटना बढ्दै गइरहेका बेला समुदायसँग मिलेर त्यस्ता घटना नियन्त्रण गर्ने हाम्रो उद्देश्य हो”, उपरीक्षक केसीले भन्नुभयो ।








