काठमाडौँ ४ पुस |

काठमाडौँ महानगरपालिकाले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ८ सम्म व्यवहारिक/प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक सङ्घ संस्थालाई विद्यालयमा सूचीकृत हुन आग्रह गरेको छ । इच्छुक सङ्घ संस्थालाई यही पुस ११ गतेभित्र सूचीकृत हुन कामपा शिक्षा विभागले आग्रह गरेको हो ।कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले विद्यार्थीलाई हरेक शुक्रबार केही नयाँ ज्ञान दिने उद्देश्यले विद्यालयमा तालिम प्रदायक सङ्घ संस्थालाई सूचीकृत हुन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कामपाले आफ्नो क्षेत्रमा सञ्चालितमध्ये ८१ सामुदायिक विद्यालयमा गत वैशाख १२ गतेदेखि पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन गर्दै आएको छ । “यसअन्तर्गत हरेक शुक्रबार किताबमा भएका भन्दा फरक र व्यवहारिक ज्ञान दिएर बालबालिकालाई शिक्षा दिनु यस कार्यक्रमको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो ।

चालु आवमा शिक्षाका लागि रू एक अर्ब ३२ करोड नौ लाख ३३ हजार रकम विनियोजन गरेको कामपाले शिक्षामा सीप कार्यक्रमका लागि पनि छुट्टै बजेटको व्यवस्था गरेको कोइरालाले बताउनुभयो । उहाँका अनुसार कामपाको माग अनुसार सूचीकृत हुने सङ्घसंस्थाले चालु आर्थिक वर्षको अन्त्यसम्म बिदा र परीक्षाको अवधि कटाएर १५ वटा शुक्रबार लागि शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ । हरेक शुक्रबार छ घण्टाका कक्षा हुनेछन् ।कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन कामपाले बाल समूह गठन गरिसकेको छ । कारागारभित्रका, फरक क्षमता भएका बालबालिका भएका र रात्रिकालीन विद्यालय बाहेक ८१ विद्यालयमा समूह गठन गरिसकिएको प्रमुख कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारको कार्यक्रमका लागि १५ वटा विषय राखिएका छन् ।हरेक विषयलाई एउटा उपसमूह मानिएको छ । यी उपसमूहमध्ये बालबालिका तथा वातावरण र विज्ञान, प्रविधि, इञ्जिनियरिङ, आर्टस र गणित (स्टीम) विषय हरेक विद्यालयका लागि अनिवार्य उपसमूह बनाइएको प्रमुख कोइरालाले बताउनुभयो ।उपमूहहरुमा बालबालिका तथा वातावरण, विज्ञान, प्रविधि, इञ्जिनियरिङ, आर्टस र गणित, भित्ते चित्र, संस्कृति र सम्पदा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, नाट्य समूह, व्यक्तित्व विकास, उद्यमशीलता सोच, पठन संस्कार, योग, सङ्गीत तथा नृत्य, ड्रोन, र एनिमेसन रहेका छन् ।विद्यार्थीको सङ्ख्या र रुचि, विद्यालयको परिवेश, शिक्षक, प्रधानाध्यापक र सम्बन्धित सरोकारवालाको सुझावका आधारमा यी विषय छनोट गरिएको कामपा शिक्षा विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here