युएई (दुबई), २३ मङ्सिर |

वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक भएको बताउनुभएको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा आयोजना भएको सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा रासससँग कुरा गर्दै उहाँले यसपटकको सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएको उल्लेख गर्नुभयो ।कोप–२८ मा सहभागी भएर मन्त्री डा महतो आज स्वदेश फर्कनुभएको छ । उहाँले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिको एकै स्वर रहेको र यसपटक नेपालले आफ्ना मुद्दा जोडदाररूपमा उठाएको उल्लेख गर्नुभयो । “यसपटक हामी वानडोर विन्डोज सिस्टमबाट प्रस्तुत भएका थियौँ । यसको परिणाम हाम्रा आवाज प्रभावकारी भएका छन् ।युएईको दुबईमा यही मङ्सिर १४ गतेदेखि सुरु भएको उक्त सम्मेलन मङ्सिर २६ गतेसम्म चल्नेछ । यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे चर्चा मात्र भएन यसले प्राथमिकतासमेत पाएको छ । मन्त्री डा महतोले कोप–२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गर्नुभएको र नेपाललाई उच्च प्राथमिकतामा राखेकाले पनि यसपटक सम्मेलनमा नेपालका मुद्दाले विश्व मञ्चमा चर्चा भएको बताउनुभयो ।यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभिलियन भएकाले जलवायु परिवर्तनका बारेमा प्रभावकारीरूपमा छलफल तथा अन्तक्र्रिया गरिएको मन्त्री डा महतोले जानकारी दिनुभयो । उहाँले डिसेम्बर ३ मा एसियाली विकास बैंकद्वारा आयोजित मन्त्रिस्तरीय कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । यस्तै डिसेम्बर ३ मा नै बैंकद्वारा ‘लञ्चिङ मेलम्ची डिजास्टर ड्यामेज एसेसमेन्ट रिपोर्ट’ कार्यक्रमलाई पनि मन्त्री डा महतोले सम्बोधन गर्नुभएको थियो ।यस्तै डिसेम्बर ५ मा भने मन्त्री डा महतोले ‘नेपाल्स मिटिगेशन इफोट्र्स ः रोड टु नेट जिरो’ कार्यक्रममा र ‘स्केलिङ अप इन्भेष्टमेन्ट इन एड्यप्टेशन द्याट लिभ्स नो वन बिहाइण्ड’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सम्बोधन गर्नुभएको थियो । डिसेम्बर ६ मा उहाँले ‘बिल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसनः पिपुल, नेचर, एण्ड एक्सन कार्यक्रम र लोकल्ली लेड एड्यप्टेशन प्राक्टिस इन नेपाल’ कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । कोप–२८ नेपाल पेभेलियनमा डिसेम्बर ३ देखि ८ तारिखसम्म २५ वटा विभिन्न साइड इभेन्ट्स सञ्चालन भएका थिए । आगामी दिनमा यही पेभेलियनमा अन्य १४ भन्दा बढी साइड इभेन्ट्स हुने मन्त्री डा महतोले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here