टीकापुर, १२ मङ्सिर |
कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन् ।उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफाइ गर्ने गरेका छन् । चार सय ८५ हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्याउने उक्त नहर झारजङ्गल र पटानी हुँदा खेतमा पानी अभाव हुन थालेपछि किसान आफँैले नहर सफा गर्न थालेको भुर्षा कुला सिँचाइ समितिका अध्यक्ष गोपाल गिरीले बताउनुभयो । “एघार किलोमिटर लामो कुलो चार दिनदेखि सफा गर्दैछौँ ।”उहाँले भुर्षा सिँचाइ कार्यक्रमलाई सरकारले सहयोग नगरेको गुनासो गर्नुभयो । “विधिवतरूपमा विसं २०५८ देखि सञ्चालनमा आएको भुर्षा सिँचाइ कार्यक्रममा पछिल्लो समय एकपटक पनि बजेट आएको छैन |किसानका समस्याका बारेमा राजनीतिक दल र जनप्रतिनिधि गम्भीर छैनन् । हजारौँ किसानको खेतीपाती सिँचाइ गर्ने कुलो सुधारमा कसैले सहयोग नगरेकाले किसान आफँैँ जुटेका हौँ ।”कुलाअन्तर्गत १२ गाउँ छन् । गाउँको भागअनुसार उनीहरूले कुलो सफा गर्ने गरेका छन् । कुलो सफाइ कार्यक्रममा सिँचाइ समितिका पदाधिकारी र गाउँका बडघरले नेतृत्व लिएर काम गरिरहेका छन् । बडघरले गाउँअनुसारको कुलाको क्षेत्रफल छुट्याइदिने गर्छन् । कुला सफा गर्दा महिलाको पनि उत्तिकै सहभागिता छ ।
कतैबाट सहयोग नभएपछि किसान आफैँ नहर सफा गर्न लागेका छौँ ।”कुलाप्रति तीनै तहका सरकारले बेवास्ता गरेको जनाउँदै उनीहरू आक्रोशित छन् । “किसानका बारेमा सुन्ने कोही भएनन्”, स्थानीय खैरे विश्वकर्माले भन्नुभयो, “११ किलोमिटर कुलाले गर्ने सिँचाइ र किसानका बारेमा सोच्ने कोही भएनन् । खेतीपातीमै भविष्य खोजेकाहरू कति चिन्तित छन्, नेतृत्वलाई चासो छैन ।”बडघर किसान सबै मिलेर सिँचाइका लागि चार दिनदेखि कुलो सफा गर्न थालेको भागीराम चौधरी बताउनुभयो । “कुलामा माटो धेरै थुप्रिएको थियो, हामीले धेरै मेहनत गरेर सफा गरेका छौँ”, उहाँले भन्नुभयो “कुलो सफा गरेपछि नागरिक पनि खुसी छन् । हामी अगुवा पनि खुसी भएका छौँ ।”








