खजुरा (बाँके), ७ मङ्सिर |

बाँकेमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले केही समयअघि गरेको परीक्षणमा आर्सेनिकको मात्रा केही बढी देखिएको प्रयोगशालाका सहायक केमिष्ट गोपाल रेग्मीले जानकारी दिनुभयो ।उहाँका अनुसार बाँकेको डुडुवा गाउँपालिकामा हाते पम्पबाट आउने खानेपानीमा बढी आर्सेनिक देखिएको हो । जिल्लाका केही स्थानका खानेपानीमा क्याल्सियमको मात्रा पनि बढी देखिएको रेग्मीले बताउनुभयो ।“खानेपानीमा चुनको मात्रा बढी हुनेलाई क्याल्सियम धेरै भएको मानिने र चुनको मात्रा बढी हुँदा खानेपानीको पाइपसमेत जाम हुनसक्छ ।पानी परीक्षणका क्रममा केही स्थानका खानेपानीमा कोलिफर्मको मात्रा पनि देखिएको भन्दै शौचालय, गाईगोठ नजिक रहेका हाते पम्पबाट आउने खानेपानीमा कोलिफर्म देखिएका प्रयोगशालाले जनाएको छ ।प्रयोगशालाले स्थलगत रुपमा खानेपानीका नमूना सङ्कलन गरी परीक्षण गरिरहेको जनाएको छ । हुम्ला, जुम्ला, डोल्पा र जाजरकोट क्षेत्रका खानेपानीको नमूना सङ्कलन गरी प्रयोगशालाले गुणस्तर परीक्षण गर्दै आएको रेग्मीले जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, खानेपानी उपभोक्ता समिति, गैरसरकारी संस्थालगायतले सङ्कलन गरी ल्याएका नमूना पनि परीक्षण गर्ने गरिएको उहाँको भनाइ थियो ।खानेपानीको गुणस्तर परीक्षणका लागि विभिन्न सीमा तयार गरी पानीमा हुने अमिलो वा टर्रोपना, विद्युतीय संवाहक, पानीको घुलित अवस्था, अमोनियालगायतका विषयको परीक्षण हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here