बारा । गत सोमबार गोली प्रहार गरी कलैया बाल एकता बोडिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारबाही गर्नुको साटो उनको चरित्र हत्या गरेको परिवारका सदस्यहरूले आरोप लगाएका छन्।
बारा प्रहरीले पत्रकार सम्मेलन गरेर स्वर्णकारको हत्यामा संलग्नलाई सार्वजनिक गरेको एक घण्टामै उनीहरूले आपत्ति जनाएका हुन्।
मृतक स्वर्णकारका दाइ सुमोध सरार्फले प्रहरीले स्वर्णकारको हत्यामा हुँदै नभएको विद्यालयका दुईजना कर्मचारीलाई सार्वजनिक गरेर हत्यारालाई उन्मुक्ति दिन लागेको आरोप लगाए।
‘प्रहरीको अनुसन्धानमा विश्वास छैन। स्वर्णकारले न्याय पाउनको साटा चरित्र हत्या भएको अवस्था छ, ‘उनले भने, ‘प्रहरीले स्वर्णकारको विगतदेखि नै कुनै पनि केटीसँग चक्कर वा संलग्तामा नरहेको भए पनि प्रहरीले घटनाको यथार्थ लुकाउन खोजेको छ।’
करिब ७ महिनाअगाडि बाल एकता बोर्डिङ स्कुलमा दुई महिना मात्र काम गरेकी राधासँग स्वर्णकारको नाम जोडेर परिवारको पनि चरित्र हत्या भएको उनको जिकिर छ।
राधालाई विद्यालयबाट हटाएदेखि स्वर्णकारको कुनै सम्बन्ध पनि नरहेको भए पनि प्रहरीले उनकै योजनामा घटना घटेको जोडेर चरित्र हत्या भएको दाबी गरे।
घटनामा संलग्न नभएका विद्यालयका कर्मचारीद्वय जामिल र रियाजलाई घटनामा सहयोगी बनाएर हत्यारालाई लुकाएको बताए।
मृतक स्वर्णकारको मुख्य हत्यारा पक्राउ नपरे परिवारका सदस्यले प्रहरीविरुद्धमा कडा आन्दोलन थाल्ने चेतावनीसमेत दिए। 
सोमबार गोली प्रहार गरी कलैया बाल एकता बोडिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्यामा संलग्न पाँचजनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ।







