शम्भुनाथ (सप्तरी), १५ असोज |

पढ्ने उमेर भए पनि सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुरस्थित मुसहर बस्तीका ९ वर्षीय सतिश सदा विद्यालय जाँदैनथे ।उनी घरदेखि करिब पाँच सय मिटरकै दूरीमा विद्यालय भए पनि विद्यालय नगई घरमै खेलेर समय बिताउँदथे । तर अहिले उनी झोलामा कपी किताब बोकेर पढ्न विद्यालय जान थालेका छन् ।सोही ठाउँका ११ वर्षीय अशोक सदाको पनि अहिले दिनचर्या फेरिएको छ । उनी पनि अहिले घर नजिकै रहेको बुद्धिलाल मुनर माध्यमिक विद्यालय अध्ययन गर्न थालेका छन् ।यसरी सतिश र अशोक मात्र होइन, पछिल्लो समय अति पिछडिएको ती बस्तीका हरवाचरवा मुसहर समुदायका बालबालिकाको शिक्षाप्रतिको आकर्षण बढ्दै गएको छ । केही वर्षअघिसम्म अत्यन्त न्यून सङ्ख्यामा मात्र मुसहर बालबालिका विद्यालय जाने गरेकोमा पछिल्लो समय ती समुदायबाट विद्यालय जाने बालबालिकाको सङ्ख्या उत्साहजनक रुपमा बढ्दै गएको पाइएको छ ।हरवाचरवा र मुसहर समुदायको उल्लेख्य बसोबास रहेको सप्तरीको शम्भुनाथ नगरपालिका–७ भगवतपुर, वडा नम्बर २ कनकपट्टी, वडा नम्बर ३ डङगराही र वडा नम्बर ५ स्थित मोहनपुरका मुसहर बालबालिका अचेल नियमित विद्यालय जान थालेका छन् ।

सो नगरपालिकाका हरवाचरवा परिवारका बालबालिकालाई लक्षित गरी श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको शैक्षिक अभियानअन्तर्गत निःशुल्क बाल ‘ट्युसन’ कक्षा सञ्चालन गरेपछि विद्यालय जाने दलित बालबालिकाको सङ्ख्या बढ्दै गएको हो । विगत तीन वर्षदेखि ती वडाबाट हरवाचरवा र मुसहर समुदायका विद्यालय जाने बालबालिकाको सङ्ख्या १२ थियो, तर सो संस्थाले द फ्रिडम फन्डको सहयोगमा ‘सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवा चरवाको सशक्तिकरण कार्यक्रम’ अन्तर्गत जनचेतना अभियान, अभिभावक भेला तथा निःशुल्क बाल कक्षा सञ्चालनमा ल्याएपछि अहिले विद्यालय जाने विद्यार्थीको सङ्ख्या तीन सयभन्दा बढी पुगेको हरवाचरवा शम्भुनाथ नगर बाल क्लबका अर्जुन सदाले जानकारी दिनुभयो ।केही वर्षअघिसम्म ती समुदायका बालबालिका पढाइभन्दा खेलकुदमै दिन बिताउने गरेका थिए, तर गाउँमै निःशुल्क बाल कक्षा सञ्चालनमा आएपछि विस्तारै पढाइलेखाइप्रति आकर्षित हुन थालेका छन् । अर्जुनले भन्नुभयो, “केही वर्षअघिसम्म विद्यालयमा हरवाचरवा मुसहर परिवारका बालबालिका न्यून सङ्ख्यामा मात्र भेट्थ्यो, अहिले विस्तारै विद्यालय जानेको सङ्ख्या बढ्न थालेको छ ।” हरवाहरवा परिवारमा शिक्षाको महत्व थाहा नभएर होला एक त हरवाचरवा परिवाका बालबालिका विद्यालय जान रुचाइरहेका थिएन तर अहिले मुसहर परिवारको बालबालिका पनि विद्यालय जान थालेका छन् भने अभिभावमा छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतनाको विकास भएको छ ।

आफूलाई पढ्न रहर हुँदा हुँदै पनि बाल्यकालमै अभिभावकले विवाह गरिदिएको सम्झिँदै उहाँले थप्नुभयो, “अहिले त्यस्तो अवस्था विस्तारै हट्दै गएको छ ।” हरवा हरवा मुसहर परिवारका अभिभावक पनि जिम्मेवार बन्दै गएको उहाँ सुनाउनुहुन्छ ।हरवाचरवा परिवारमा शिक्षाको अवस्था अत्यन्तै नाजुक देखिएपछि संस्थाले शम्भुनाथ नगरपालिकाको बिभिन्न वडामा सञ्चालन गरेको निःशुल्क बाल शिक्षा कार्यक्रममा अहिले हरवाचरवा र मुसहर समुदायका दुई सयभन्दा बढी हरवाचरवा बालबालिका नियमितरुपमा अध्ययन गर्नका लागि आउने गरेको श्रीपुर्राज सामुदायिक केन्द्रका कार्यक्रम संयोजक लालुप्रसाद रामले जानकारी दिनुभयो । तीमध्ये एक सय ५० जना बालबालिकालाई विभिन्न विद्यालयको पहँुचमा पु¥याइ सकिएको उहाँको भनाइ छ । विद्यालयमा भर्ना भएका बालबालिकालाई संस्थाको तर्फबाट शैक्षिक सामग्री र झोलासमेत निःशुल्क उपलब्ध गराएको छ । विद्यालय बाहिर रहेका बालबालिकाका लागि हाल तीन जना दक्ष शिक्षिका र एक दर्जन स्वयंसेवक परिचालित गरेर नौ महिने बाल शिक्षा प्रदान गरिरहेको र क्रमिकरुपमा विद्यालय भर्ना गराउँदै लगिने जनाइएको छ । “प्रारम्भिक बाल शिक्षाबाट राम्रो गर्दै गएका एक सय ५० जना हरवाचरवा परिवारका बालबालिकालाई अहिलेसम्म स्थानीय विद्यालयमा भर्ना गराई सकिएको छ बाँकी रहेकालाई पनि क्रमशः पायक पर्ने विद्यालयमा भर्ना गराउने तयारी छ ।” गरिबी र अभावबाट गुज्रिरहेका हरवाचरवा र मुसहर समुदायका अधिकांश बालबालिका विद्यालयको नाकमुख देख्न पाएका छैन उहाँले भन्नुभयो, “यस्तालाई आगामी शैक्षिक सत्रदेखि विद्यालयसँग जोड्न सक्दो पहल गरिरहेका छौँ ।” शैक्षिकरुपमा जर्जर रहेको हरवाचरवा र मुसहर समुदायका बालबालिकाको विद्यालय आउने क्रम बढेको भन्दै यस्तो अभियानलाई अझ निरन्तरता दिनुपर्ने शम्भुनाथ –३ स्थित बौकीदेवी दलित आधारभूत विद्यालयका प्रधानाध्यापक गोसाइ पासवानले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here