काठमाडौँ, १३ असोज |
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा आलोपालोका लागि भएको सहमतिबमोजिम अध्यक्षमा सहअध्यक्ष सुवास न्यौपानेको आजदेखि कार्यकाल सुरु गर्नुभएको छ ।सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न पहिलो १८ महिना पाण्डव हमाल र दोस्रो १८ महिना न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो । हमालको कार्यकाल गत भदौ २४ गतेदेखि सकिएकाले अध्यक्षमा आफू कायम हुनुपर्नेमा सहजरुपमा हस्तान्तरण नगरिएपछि न्यौपानले आज कार्यक्रम आयोजना गरी पदस्थापनको घोषणा गर्नुभएको हो ।अध्यक्ष न्यौपाने शिक्षा क्षेत्रमा निजी क्षेत्रको योगदानलाई राज्यले बेवास्ता गर्न नमिल्ने भन्दै विभेदकारी कानुन र नीति नल्याउन सरकारसँग माग गर्नुभयो ।कार्यक्रममा नेशनल प्याब्सनका पूर्वअध्यक्ष वसन्तबहादुर श्रेष्ठ, कर्णबहादुर शाही, प्याब्सनका अध्यक्ष डिके ढुङ्गाना, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, निजी विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले कार्यकाल सफलताको कामना गर्नुभएको थियो ।






