हान्झाउ,१३,असोज  ।

चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग सोझो सेटमा पराजित भएको छ ।पहिलो पटक एसियाड खेलेको नेपाली महिला भलिबल टोलीले डेब्यु खेलमा भियतनाम विरुद्ध कमजोर प्रदर्शन गर्दा सहजै पराजित भएको हो ।देकिङ स्पोर्ट्स सेन्टर जिम्न्यासियममा शनिबार भएको खेलमा भियतनामले नेपाललाई २५-४, २५-१६, २५-१३ ले पराजित गरेको हो ।पहिलो सेटमा भियतनामले ७ अंक जोडेपछि मात्र नेपालले पहिलो अंक जोडेको थियो ।दोस्रो सेटमा नेपालले केही सुधारिएको प्रदर्शन गरेपनि भियतनामलाई रोक्न सकेन । तेस्रो सेटमा नेपालले सुरुमै लगातार ३ अंक जोड्दै अग्रता लिएपनि त्यो लय काम राख्न सकेन । त्यसपछि भियतनामले लगातार ७ अंक जोड्दै नेपाललाई पछि पारेको थियो ।नेपाली महिला टोलीले खेलेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हो । यसअघि नेपालले २०१९ मा नेपालमै भएको १३औं सागमा रजत पदक जितेको थियो भने एभिसी सेन्ट्रल जोनमा दुई पटक स्वर्ण जितेको थियो ।यसै वर्ष वैशाखमा नेपालमै भएको काभा च्यालेन्ज कपमा भने नेपाल तेस्रो भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here