काठमाडौं,११,असोज  ।

इन्द्रजात्रा अवलोकनको लागि काठमाडौंमा विभिन्न देशका जनप्रतिनिधिहरु आएका छन् ।काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका विदेशी पाहुनालाई स्वागत गरेका छन् ।महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि तीन देशका पाँच नगर र एउटा संस्थाबाट प्रतिनिधित्व गर्दै २० जना अतिथि काठमाडौं आएका छन् । आन्तरिक भगिनी सम्बन्ध भएका शहरहरुबाट प्रमुखसहित प्रतिनिधिहरु आएका छन् ।महानगरले मौलिक प्रविधि, सीप र कला जोडेर सिर्जना गरेका मूर्त सम्पदासँग अमूर्त सम्पदाको सम्बन्धको अवलोकन गर्न महानगरपालिकाले भगिनी तथा संस्थागत सम्बन्ध भएका नगरबाट प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरेको थियो ।बिहीबार विहान बसन्तपुर र रथयात्रा हुने मार्गको पैदल यात्रा आयोजना भएको थियो । पाहुनाहरुले कुमारी रथ यात्राको अवलोकन गरेका छन् ।

शुक्रबार भक्तपुर दरबार क्षेत्रको भ्रमण हुनेछ । त्यसपछि आर्ट ग्यालरीको अवलोकन हुनेछ । शुक्रबार नै हाँडीगाउँमा आयोजना हुने मौलिक तथा परम्परागत प्रदर्शनीमा अतिथिहरुलाई सहभागी गराइने महानगरले जनाएको छ ।१३ गते स्वयम्भूको अवलोकन भ्रमणपछि अतिथिहरुलाई नेपाली बजार घुम्ने समय उपलब्ध गराउने महानगरको तयारी छ । उनीहरु १४ असोजमा स्वदेश फर्किनेछन् ।जात्रा कार्यक्रमअन्तर्गत बिहीबरदेखि रथ यात्रा सुरु हुनेछ । बिहीबार पहिलो दिन तल्लो टोल (बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म) मा रथ यात्रा हुनेछ ।रथयात्रा सुरु हुनु अगाडि राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तिहरुले गद्दी बैठकबाट श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन तथा रथयात्रा अवलोकन गर्नेछन् । रथयात्रा सकिएपछि दागी (इन्द्र देवताकी आमा सँगसँगै वर्ष भरिका दिवगत व्यक्तिका परिवारहरु रथ यात्राको रुटमा नगर परिक्रमा गर्ने) परम्परा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here