महेन्द्रनगर, (कञ्चनपुर), १० असोज |

कोरोना कहरपछि सुदूरपश्चिमको पश्चिमीनाका गड्डाचौकीबाट भारतले तेस्रो मुलुकका पर्यटकलाई प्रवेशमा रोक लगाउँदा यहाँ पर्यटकको चहलपहल घटेको छ । भारतबाट गड्डाचौकी हँुदै नेपाल प्रवेश गर्ने बाह्य पर्यटकको रोजाइ पोखरा, बर्दिया र चितवनलगायत क्षेत्र पर्ने गरेका छन् ।यहीँ नाकाबाट भित्रिने पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत अन्य पर्यटकीय क्षेत्रको जानकारी दिने संयन्त्र गड्डाचौकी नाकामा नभएको स्थानीय बताउँछन् । विश्व पर्यटन दिवसका अवसरमा गड्डाचौकीबाट मुलुकभित्र प्रवेश गर्ने पर्यटकलाई एक दिन सरोकारवाला निकाय र स्थानीय प्रशासनले औपचारिक रुपमा स्वागत गर्दै आएका छन् । सोही अवसरमा आज बिहान यस नाकाबाट काठमाडौँ जान लागेका दुई इजरायली पर्यटकलाई स्वागत गरिएको छ ।भीमदत्त नगरपालिकाको अगुवाइमा यहाँ हरेक वर्ष पर्यटन दिवसमा पर्यटकलाई स्वागत गरिए पनि नाकामा पर्यटकको सहजताका लागि ‘टुरिष्ट गाइड’ समेत नरहेको गड्डाचौकीस्थित अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्टले बताउनुभयो । उहाँका अनुसार यहाँ पर्यटन दिवसका दिन मात्रै स्वागत गर्ने चलन लामो समयदेखि चलिरहेको छ ।यहाँ भएको पर्यटन बोर्डको कार्यालय पनि अहिले छैन ।” शुक्लाफाँटा, एसियाकै लामो महाकाली नदीमा रहेको दोधारा चादँनी झोलङ्गे पुल, बेदकोट ताल, झिलमिला, होमस्टेलगायत पर्यटकीय क्षेत्रका बारेमा सीमानाकामा जानकारी दिने संयन्त्र नहुँदा लामो समयदेखि बाह्य पर्यटकको रोजाइमा कञ्चनपुर पर्न नसकेको उहाँको भनाइ थियो ।

पर्यटकीय क्षेत्रको पहिचान गरी प्रचारप्रसारमा जोड दिनुपर्नेमा हालसम्म स्थानीय निकाय वा अन्य संयन्त्रबाट पनि प्रचारप्रसारको काम हुन सकेको छैन ।” उहाँका अनुसार कोरोना सङ्क्रमणभन्दा अघिसम्म यहाँबाट वार्षिक चार हजारसम्म तेस्रो मुलुकका पर्यटकले आवातजावत गर्ने गरेकामा अहिले त्यो सङ्ख्या घटेर एक हजारमा झरेको अध्यागमन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।कार्यालयका प्रमुख भट्टका अनुसार सन् २०२२ मा यहाँबाट पाँच सय ४२ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२३ को हालसम्म छ सय ८६ जना पर्यटक भित्रिएका छन् । जर्मनी, फ्रान्स, इजरायल, नर्वे, अमेरिका, क्यानेडालगायत मुलुकका पर्यटक भारतीय पर्यटकीय गन्तव्य भ्रमण गरेर गड्डाचौकी नाकाबाट नेपाल आउने गरेका उहाँले जानकारी दिनुभयो ।निजी क्षेत्रबाट पनि यहाँका पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार नभएको भट्टको भनाइ थियो । नाकाबाट करिब १५ मिनेटको दुरीमा शुक्लाफाँटा र झोलुङ्गे पुल रहे पनि यहाँका बारेमा पर्यटक अनविज्ञ हुने गरेको उहाँले बताउनुभयो ।विभिन्न गैरसरकारी संस्थाले आज विविध कार्यक्रम गरी औपचारिक रुपमा पर्यटन दिवस मनाएका भन्दै ती संस्थाले पनि यहाँका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा कुनै दीर्घकालीन योजना ल्याउन नसकेका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताउनुभयो । उहाँका अनुसार निकुञ्जमा विश्वमै दुर्लभ बाह्रङ्गिेको झुण्ड पाइनुका साथै ३६ पाटे बाघ र १७ गैँडा र चार सय भन्दा बढी प्रजातीका चराचुरुङ्गी रहेका छन् ।शुक्लाफाँटामा विगत एक दशकको तथ्याङ्क हेर्दा पनि बाह्य पर्यटकको रोजाइमा निकुञ्ज पर्न सकिरहेको छैन् ।” उहाँका अनुसार यहाँ ९५ प्रतिशत आन्तरिक पर्यटक भ्रमणका लागि आउने गरेका छन् ।प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यहाँको पर्यटन विकासका लागि गुरुयोजना तयार गरेर अघि बढेको जनाएको छ । मन्त्रालयले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पर्यटनका लागि आवश्यक गतिविधि सञ्चालनको तयारी गरिरहेको जानकारी दिएको संरक्षण अधिकृत ऐरले बताउनुभयो ।चाुल आर्थिक वर्षमा निकुञ्जभित्रको सडक पिच गर्न, महाकाली नदीको चार लेनको पुल तथा पहुँच मार्ग विस्तारका लागि बजेट विनियोजन भएको छ ।” बाह्यस्तरमा निकुञ्जको प्रचारप्रसार नहुँदा यहाँ पर्यटक वृद्धि हुन नसकेको उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here