काठमाडौँ, ९ असोज |
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा उहाँले स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।“चिकित्सको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ”, उहाँले भन्नुभयो । चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले आन्दोलनरत चिकित्सकलाई बिरामीको सेवामा फर्कन आग्रह गर्नुभयो ।“चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शारीरिक आक्रमणको घटना भएका छन् ।त्यसमा कुनै प्रकारको द्विविधा नराख्न र कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन मातहतको निकायलाई कडा निर्देशन जारी भइसकेको छ ।”छलफलमा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमणको घटना बढ्दै जाँदा अराजक स्थिति सिर्जना हुने भएकाले बेलैमा सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा सरोकारवालासँग छलफल गरिएको बताउनुभयो ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिल कार्कीले सरकारले चिकित्सकको अभिभावकत्व ग्रहण गर्नुपर्नेमा जोड दिँदै ढुक्क भएर काम गर्ने वातावरण बनाइदिनुपर्ने बताउनुभयो । उहाँले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्न आग्रह गर्नुभयो ।नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालाले कुनै पनि वहानामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा स्वास्थ्य संस्थामाथि आक्रमण गर्नेमाथि कडा कारबाही हुनुपर्ने बताउनुभयो ।छलफलले देशभरका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण गर्नेलाई कडा कारबाही गर्ने निष्कर्ष निकालेको छ । बैठकले स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील पेसामा रहेका व्यक्तिमाथि कुटपिट गर्नेलाई चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्यसंस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने र त्यसका लागि मातहतका निकायमा सर्कुलर जारी गर्ने निर्णय गरेको छ ।यस्तै बैठकले देशभरका अस्पताल र स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा भौतिक आक्रमण गरेको अवस्था तथा चिकित्सक र स्वास्थ्यकर्मीबाट उपचारका क्रममा कमजोरी गरेको भए कारबाही गर्ने ऐनको प्रावधानका बारेमा सबै स्वास्थ्य संस्थामा जानकारीमूलक सूचना पाटी राख्ने निष्कर्ष निकालेको छ । यसको समन्वय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्नेछ ।
त्यसो नगरी स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण वा स्वास्थ्य संस्थामाथि आक्रमण गर्यो भने त्यही ऐनको प्रावधानअनुसार कारबाही र सजाय हुनसक्ने छ भन्ने व्यहोराको जानकारी छिट्टै स्वास्थ्य मन्त्रालयले राख्नेछ ।”छलफलमा उपप्रधानमन्त्री श्रेष्ठ, स्वास्थ्यमन्त्री बस्नेत, गृहसचिव दिनेश भट्टराई, स्वास्थ्य मन्त्रालयका निमित्त सचिव, अतिरिक्त सचिव, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घ, नेपाल नर्सिङ सङ्घ, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनका प्रतिनिधिको सहभागिता थियो ।








