काठमाडौँ, ९ असोज |
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज ललितपुरमा आयोजित एक कार्यक्रममा कलाकार कालु कुमाले (कुम्हाः) को जीवनीमा आधारित पुस्तक ‘देउता बनाउने मान्छे’को लोकार्पण गर्नुभएको छ ।सो अवसरमा उहाँले धातु मूर्तिकलाका कलाकार कुमालेको जीवनमा आधारित पुस्तकबाट उहाँका आरोह, अवरोह, सङ्घर्ष र सफलताका पक्षबारे पाठकले जानकारी पाउने विश्वास व्यक्त गर्नुभयो । कुनै पनि संस्कृति भनेको संस्कार र बुझाइ हो । मूर्तिकलामार्फत सहरी आभिजात्य संस्कृति होइन लोक संस्कृतिलाई समृद्ध बनाउने कुमालेको सिर्जनात्मक कार्य प्रशंसनीय छ ।”उहाँले कुमालेले धातु मूर्तिकलामा बेजोड सौगात र अजम्बरी सिर्जना प्रस्तुत गर्नुभएकोमा खुसी व्यक्त गर्नुभयो । साथै उहाँले कुमालेद्वारा सिर्जित मूर्ति मठ, मन्दिर, विहार, गुम्बामा पुजिँदै आएको बताउँदै यो महत्वपूर्ण योगदान र ऐतिहासिक कार्य सिङ्गो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि हो भन्नुभयो ।
उपराष्ट्रपति यादवले भन्नुभयो, “कालु कुमालेद्वारा सिर्जित मूर्ति अवलोकन गर्दा त्यसमा उहाँको मौलिक शिल्प प्रशस्तै देख्न सकिन्छ । केही फरक र रैथाने संस्कृति, मूल्य, आदर्श र परम्परालाई स्थापित गर्नुभएको छ । चित्रभाषा बुझ्नेले कलाकार कुमालेले सिर्जना गरेको मूर्तिमा उहाँको हृदय र मस्तिष्क दुवैको सामन्जस्यता सजिलै भेट्टाउन र पाउन सक्दछन् ।” उहाँले मूर्तिकार कुमाले जस्तो श्रष्टा, सिर्जनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्दै उहाँका अद्वितीय कलाको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले समाज र देशका लागि योगदान गर्ने विशिष्ट व्यक्तिलाई मरणोपरान्तभन्दा पनि जिउँदैमा सम्मान गर्ने नीति अवलम्बन गरी कार्यान्वयन गरेको बताउनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छालीले कुमालेले आफ्नो परम्परागत पेसाको पहिचानलाई कलासँग जोडेर नामसमेत कमाउनुभएको भन्दै प्रशंसा गर्नुभयो ।लेखक तथा साहित्यकार कुमारी लामाले पुस्तकबारे समीक्षा गर्नुभएको थियो । संस्थाका अध्यक्ष नवराज लामाले कुमालेले कला क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै नयाँ पुस्तालाई उहाँको जीवनी एक प्रेरणाको स्रोत हुने भन्ने ठानी उहाँको जीवनी प्रकाशित गरेको बताउनुभयो ।संस्थाका अनुसन्धान प्रमुख कैलाश राईले स्वागत गर्दै संस्थाका बारेमा जानकारी गराउनुभएको थियो । कुमालेका छोरा राकेश अवालेले हाल ९१ वर्र्षीय आफ्ना बुबाले गर्नुभएका काम र हालको दैनकीबारेमा सुनाउनुभएको थियो ।







