काठमाडौं,७,असोज  ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी केन्द्रीय समिति बैठकमा बोल्नका लागि एउटै व्यक्तिको दुईपटक नाम उच्चारण गर्छन् ।तत्काल बोल्ने पालो आएका व्यक्तिको नाम लिएसँगै यस पछि बोल्ने पालो भनेर अर्को केन्द्रीय सदस्यको नाम लिन्छन् ।आइतबार बोल्ने केन्द्रीय सदस्यको नाम बोलाउँदै गर्दा गोविन्द भट्टराई र हरिशरण नेपालीको नामसँगै लिए ।तत्काल बोल्नेका लागि भट्टराईलाई पालो दिएसँगै ‘यसपछि हरिशरण नेपाली’ भने । भट्टराई बोलीसकेपछि बोल्ने पालो केन्द्रीय सदस्य नेपालीको आयो ।२० देखि ३० साउनसम्म पार्टी संगठन सुदृढीकरणका लागि जिल्ला जाँदा स्थलगत अवस्था नेपालीले बैठकमा राखे ।‘जिल्लामा ज्यादै असन्तुष्टिहरु छन् । तपाईँहरु पहिले सच्चिएर आउनुस् भन्नुभएको छ । जिल्ला एक अर्कासँग कोर्डिनेसन छैन । जिल्लामा बैठक बसाउन पनि धौधौको अवस्था छ,’ सांगठनिक अवस्थाबारे ब्रिफिङ गरेका उनले जनप्रतिनिधि र पार्टीवीच समन्वय नभएको सुनाए ।सभापति देउवाले धन्यवाद है सकियो भन्दै रोकिन आग्रह गरे तर, नेपाली बोलिरहे ।त्यसै बेला देउवाले छेउमै रहेका महामन्त्री विश्वप्रकाश शर्मालाई सोधे, ‘को मान्छे हो यो |उनको माइक अन नै थियो, देउवाले सोधेको सबैले सुने । महामन्त्रीले जवाफ दिए, त्यो बाहिर सुनिएन ।एक नेताका अनुसार उनले हरिशरण नेपाली भएको बताए । देउवाले फेरि सोधे, कहाँको मान्छे हो यो ? माइक अन नै भएकाले बैठकमा सहभागी सबैले सुने ।शर्माले भक्तपुरको नेता भएको बताएपछि देउवाले भने, ‘भयो भयो, सिद्धियो । माफ गर्नुहोला ।’त्यसपछि देउवाले बैठक अगाडि बढाए । तर नेताहरु भने सभापतिले केन्द्रीय सदस्यलाई समेत नचिने जसरी सोधखोज गरेकोमा आश्चर्य व्यक्त गरेका छन् ।‘देउवा कुन हदसम्म जानकारी राख्न सक्दैनन् भन्ने हो’, उमेरजन्य कारण पनि होला, देउवाले विसर्न थालेको कांग्रेसका एक नेताले सुनाए ।स्वयंम हरिशरणले पनि अनौठो मानेका छन् । उनका अनुसार सभापति देउवासँग बेला–बेला भेट भइरहन्थ्यो । ‘खै किन त्यसो भन्नुभयो ? मलाई पनि अचम्म लागेको छ’, उनले अनलाइनखबरसँग भने, ‘म अलि पर बसेको थिएँ, दुरीको कारणले पो हो कि |नेपाली विद्यार्थी संघ र दलित संघमा क्रियाशील हुँदै पार्टीको मूल राजनीतिमा आएका उनी १४औं महाधिवेशनमा संस्थापन पक्षबाटै केन्द्रीय सदस्य चुनिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here