काठमाडौँ, ६ असोज |
पूर्व लिच्छिविकालीन सहरका रुपमा स्थापित हाँडीगाउँका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।कैलाशकूट सामाजिक अभियानको प्रथम साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै सम्पदाविद्हरुले हाँडीगाउँका १४ थरी प्राचीन बाजामध्ये तीन वटा लोप भइसकेकाले यहाँका मूर्त, अमूर्त सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको हो ।प्राज्ञ दिनेशराज पन्तले इतिहास पोखरी नभई नदीका रुपमा स्थापित हुनुपर्ने भनाइ राख्नुहुँदै हाँडीगाउँको इतिहासका बारेमा स्थानीयले नै बुझेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।बागमती प्रदेशसभा सदस्य राजेन्द्र प्रजापतिले धर्म, संस्कृतिमाथि निरन्तर आक्रमण भइरहेकाले यसको संरक्षणका लागि स्थानीयवासी नै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । काठमाडौँ महानगरपालिका वडा नं ५ का अध्यक्ष वीरेन्द्र प्रजापतिले पूर्व लिच्छविकालीन हाँडीगाउँलाई विकास गर्न स्थानीय सरकार सक्रिय भई लागेको बताउनुभयो ।प्रा डा सुदर्शनराज तिवारीले किराँत र लिच्छविकालका सम्पदा रहेको हाँडीगाउँको समावेशीरुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो । मानगृह, कैलाशकूट भवन, मध्यमगृहजस्ता भवन हाँडीगाउँमै रहेका धेरै प्रमाण रहेको उहाँले बताउनुभयो ।
वरिष्ठ पत्रकार सुशील कोइरालाले भारतमा समेत नरहेको व्यास मन्दिर हाँडीगाउँमा रहेको र यस्ता अनगिन्ति सम्पदा हाँडीगाउँमा रहेकाले यसको संरक्षणमा नागरिकस्तरबाट काम हुनुपर्ने बताउनुभयो । कार्यक्रममा हाँडीगाउँ क्षेत्रका सम्पदाको संरक्षणमा योगदान गर्नुभएका देवदास डङ्गोल र उहाँकी श्रीमती मनमाया डङ्गोल, हाँडीगाउँ क्षेत्रबाट गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएका एक छात्र र छात्रालाई सम्मान गरिएको थियो ।कार्यक्रममा अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठ, अधिवक्ता उद्धव केसी, निर्वाचन समिति संयोजक अनुपराज गौतम, सल्लाहकार सुखराम महर्जनलगायतले यस क्षेत्रका धनगणेश, पञ्चधारा, सत्यनारायणस्थललगायत सम्पदा क्षेत्र दूरावस्थामा पुगेको बताउनुभयो ।अभियानको पहिलो साधारणसभाले महेशकुमार श्रेष्ठको अध्यक्षतामा अर्को कार्यकालका लागि १५ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कैलाशराम प्रधान, महासचिवमा मोहनकुमार पौडेल, सचिवमा प्रभुराज पौडेल, कोषाध्यक्षमा गणेशबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।यसैगरी अभियानको सदस्यमा तीर्थबहादुर बज्राचार्य, गौरव केसी, राम प्रजापती, कमल नेपाल, धर्मनारायण श्रेष्ठ, मेघराज सापकोटा, निश्चल जोशी, श्यामहरि नापित, किशोरराज जोशी र ज्योतिका महर्जन रहनुभएको छ । उपाध्यक्ष प्रधानका अनुसार सुखराम महर्जन, उद्धव केसी, डा विमला ओझा, डा सुरेशराज चालिसे, डा माधुरी राणालाई सल्लाहकारमा मनोनयन गरिएको छ ।







